aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बैंकबारे बुझाई गलत भो, संकटको कारण अर्कै छ : गोल्यान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
बैंकबारे बुझाई गलत भो, संकटको कारण अर्कै छ : गोल्यान

काठमाडौं । नेपालका बैंकहरुप्रति विकास हुँदै गएको आम धारणाले बैंकिङ क्षेत्रलाई थप समस्यामा पारेको बैंक सञ्चालकले बताएका छन् । बैंक तथा वित्तीय परिसंघका अध्यक्ष पवन गोल्यानले यस्तो गुनासो गरेका हुन् ।

आर्थिकन्युजसँगको कुराकानीमा उनले भने, ‘सर्वसाधारणको दृष्टिबाट बैंकको कमजोरी देखियो होला । तर, त्यसले भ्रम मात्र सिर्जना गरेको छ ।’ उनले बैंक पनि अन्य व्यापार जस्तै एक तर्फबाट लिने र अर्को तर्फबाट दिने संस्था भएको स्पष्ट पारे ।

बैंकलाई बिचमा आफ्नो थोरै मुनाफा राखेर व्यापार गर्ने संस्थाको रुपमा व्याख्या गर्दै उनले भने, ‘हामी सबै व्यापारमा त्यस्तै गछौं । आयात निर्यातमा पनि गरिने त्यस्तै हो । खरिद र बिक्रीको बिचमा थोरै मुनाफा राखिन्छ।’

अहिले सर्वाधिक चर्चामा रहेको विषय ब्याजदरको उच्च वृद्धिबारे पनि गोल्यान बोले । बैंकको ब्याजदरबारे भने जायज वा नाजायज, कति ठिक वा कति बेठिक भन्ने विषयमा छलफल र चर्चा गर्न मिल्ने उनको धारणा छ ।

त्यस्तै, बजारमा देखिएको तरलता अभावको कारणले बजारमा नगद प्रवाह नभइरहेको अवस्था रहेको उनले प्रस्ट्याए। त्यसबारे आफ्नो विचार राख्दै उनले भने, ‘हो, यो बारे कुरा गर्न मिल्छ । तर, सबै समस्या बैंकले नै जन्मायो भन्ने कुरा चाहिँ कुरामा कहीँ न कहीँ गलत छ ।’

बैङ्कहरूको गलत प्रतिस्पर्धाका कारण सेवाग्राहीहरूमा परिरहेको समस्याले गर्दा बैङ्कप्रति नकारात्मक धारणा विकास भएको होइन र ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘त्यस्तो ठ्याक्कै चाहिँ होइन ।’

बैंक तथा वित्तीय संस्थाहरूले बनाएको एउटा रिपोर्टहरूलाई उद्धृत गर्दै उनले भने, ‘साढे दुई अर्बबाट एकै पटक आठ अर्बमा चुक्ता पुँजी पुग्यो । जसले गर्दा बैङ्कहरू आक्रामक बजार विस्तारको नीति लिन बाध्य भए ।’

उनले उदाहरण पेश गर्दै उनले भने, ‘आठ अर्बको पुँजी भएपछि त्यसमा १० प्रतिशतको मात्रै प्रतिफल दिन पनि व्यापार चार गुणा भन्दा बढीले विस्तार गर्नु पर्ने भयो । हो, यहि विन्दुबाट मुलुकमा आर्थिक संकट सुरु हुँदै त्यो बिस्तारै अस्वस्थ प्रतिस्पर्धाको तहसम्म पुग्यो । जसले तरलता अभाव सिर्जना गर्‍यो ।’

बैङ्कहरूको चुक्ता पुँजी वृद्धि भएपछि अहिलेसम्म तीन चार पटक गहिरो तरलता संकट देखापरिसकेको पनि उनले बताए । त्यसरी यस प्रकारको तरलता अभाव इतिहास नदेखिएको पनि उनले स्मरण गरे । 

अहिलेको समस्यालाई बुझ्न यो विषयको गहन विश्लेषण गर्नु पर्नेमा उनको जोड रहेको छ । सैद्धान्तिकरुपमा बजारमा प्रतिस्पर्धा बढ्दा त्यसले एकाधिकारको अन्त्य गर्ने र समग्र बजारलाई सकारात्मक परिणाम दिने हुन्छ । त्यसैले प्रतिस्पर्धाको कारणले संकट सिर्जना भयो भन्ने कुरालाई स्वीकार गर्न नसकिने उनको भनाई छ ।

साढे दुई अर्ब चुक्ता पुँजीबाट आठ अर्ब पुर्‍याइएका बेला हाम्रो घरेलु बजारले त्यसलाई धान्न सक्ने अवस्था नरहेको भए पनि अहिले भने अर्थतन्त्रको आकारले त्यसलाई सपोर्ट गरेको उनको ठम्याइ छ । नेपालको माटो सुहाउँदो दिगो विकास गर्न र नेपालको मौलिकतामा आधारित विकासका परियोजनाहरू सञ्चालन गर्न पनि यस्तो आवश्यकता रहेकोमा उनले जोड दिए ।

विदेशीहरूले उनीहरूको चाहना र स्वार्थमा केन्द्रित रहेर विकासका परियोजना र अन्य योजनाहरू अघि बढाउने हुँदा त्यसबाट सजक बन्दै हाम्रो आफ्नो आवश्यकतालाई ध्यानमा राखेर नीति निर्माण र योजना तर्जुमा गर्नु पर्नेमा  उनको जोड रहको छ । उत्पादनशील क्षेत्रमा लगानी गर्ने कुरालाई महत्त्व दिँदै त्यस्तो क्षेत्र र ठाउँ कुन हो भनेर पहिचान गर्नु अझ बढी आवश्यक र महत्त्व रहेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस