
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छाले सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम गर्न नवनियुक्त अर्थमन्त्री प्रकाशशरणलाई आग्रह गरेका छन् ।
आइतबार महासङ्घको पदाधिकारी र प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा व्रिफिङ पनि गरेका थिए ।
भेटमा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरी ब्याजदर घटाउनु सुझाव दिए । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उनको भनाइ थियो । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाको सुझाव छ ।
अहिले करिब २५ प्रतिशत मात्र रहेको पुँजीगत खर्चलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए । “राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भए पनि खर्च गर्नुपर्छ”, अध्यक्ष गोल्छाले भने ।
यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न तथा राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न उनले अर्थमन्त्री समक्ष सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस