
ललितपुर । ६६ औं राष्ट्रिय सहकारी दिवस सन्दर्भमा उपत्यकामा हुने विभिन्न कार्यक्रम सहभागी हुन राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ/संस्थाका प्रतिनिधिहरूलाई एसएमएस मार्फत अनुरोध गरेको छ ।
दिवसको अवसरमा चैत्र २० गते बिहान ७ बजे उपत्यकाको विभिन्न स्थानबाट निकालिने र्याली तथा कार्यक्रममा आइतबार संघ/संस्थाका पदाधिकारी तथा सहकारीकर्मीहरुलाई मोबाइलमा एसएमएस पठाएर तोकिएको स्थानमा बिहान ७ बजे ब्यानर सहित अनिवार्य उपस्थित हुन आग्रह गरिएको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए ।
त्यसै गरी बैंकले चैत्र १७ गते आफ्ना सदस्य सहकारी संघ/संस्थाका प्रतिनिधिहरूलाई टेलिफोन, इमेल, सामाजिक सञ्जाल (मेसेन्जर ग्रुप, भाइवर ग्रुप, व्हाट्सएप ग्रुप आदि) लगायतका माध्यमबाट पनि दिवसमा सहभागिता जनाउन देशभरिका सहकारीकर्मीहरुलाई आग्रह गरेको थियो । नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइने गरिएको छ ।
हरेक वर्ष झैँ यस वर्ष पनि सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आव्हानमा “सहकारीको दिगोपन ः स्वनियमन र सुशासन” भन्ने थिम (नारा) लाई सार्थक बनाउने गरी सहकारीका समसामयिक मुद्दाहरूलाई उजागर गर्न विभिन्न कार्यक्रमहरू साथ मनाइने बैंकले जनाएको छ ।
उक्त योजना अनुसार सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय कार्यालय सहित सबै शाखा कार्यालयहरूको सहभागितामा मनाइने बैंकले जनाएको छ ।
महासंघको अगुवाइमा हुने कार्यक्रममा उपत्यका भित्रका शाखा कार्यालय अन्तर्गत सदस्यता लिई कारोबार गर्ने सदस्य सहकारी संघ÷संस्थाहरुलाई काठमाडौँ उपत्यका केन्द्रित प्रभात फेरी कार्यक्रममा तोकिएको स्थानमा उपस्थित भई माइतीघर मण्डलामा हुने कोण सभामा उपस्थिति हुनको लागि अनुरोध गरेको छ ।
त्यसै गरी उपत्यका बाहिरका शाखा कार्यालय अन्तर्गतका सहकारीकर्मीहरुलाई स्थानीय स्तरमा हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउन बैंकले आग्रह गरेको छ ।
दिवसको कार्यक्रमलाई देशव्यापी बनाउन राष्ट्रिय सहकारी महासंघले गत बुधवार पत्रकार सम्मेलन गरी विज्ञप्ति जारी गर्दै प्रदेश, जिल्ला र केन्द्रीय सङ्घहरूमार्फत र्याली सहित सम्पूर्ण सहकारीकर्मीहरुलाई माइतीघर मण्डलामा उपस्थितिका लागि आव्हान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस