
काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले नव नियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेटघाट गरेका छन् । सोमबार उनीहरूले अर्थमन्त्री महतसँग भेटेर समग्र बैंकिङ क्षेत्रको बारेमा जानकारी गराएका हुन् ।
सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराए । यसका साथै उनले पछिल्लो समयमा देखा परेका चुनौतीहरूका विषयमा जानकारी गराए । यस क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको समेत उनले बताए ।
संघका पदाधिकारीहरूले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतको विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।
नव नियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंक तथा वित्तीय संस्थाहरूले गरेको योगदानको प्रशंसा गरे । उनले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरूको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताउँदै आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम् भूमिका रहने बताए ।
प्रतिक्रिया दिनुहोस