
काठमाडौं । नेपाल राष्ट्र बैंकको दबाबपूर्ण मर्जर नीतिलाई कतिपय ठूला बैंकहरुले स्वीकार गरिसकेका छन् । बाँकी रहेका केही चर्चित बैंकहरुको मर्जरको चर्चाले अहिले पनि बजार भने तातिरहेको छ ।
तुरुन्तै मर्जरमा जानुपर्ने दबाबमा रहेको एउटा ठूलो बैंक हो, एनआईसी एसिया बैंक । तर, सो बैंकसंग मर्जरमा जाने इच्छा भने कुनै बैंकहरुले देखाइरहेका छैनन् । एनआईसी एसिया बैंकले आफू सिद्धार्थ बैंकसंग मर्जरको तयारीमा रहेको बजार हल्ला चलायो । जसलाई सिद्धार्थ बैंकले औपचारिक रुपमा नै खण्डन गरिसकेको छ ।
सिद्धार्थ बैंकले एनआईसी एसिया बैंकको मर्जर प्रस्ताव औपचारिक रुपमा प्रवेश गर्नु पूर्व नै अस्वीकार गरेपछि अहिले एनएमबि बैंकसंग साइनो जोड्न लागेको भन्ने खबर फेरि बजारमा फिँजाएको छ। तर, त्यो हल्ला समेत यथार्थमा परिणत नहुने निश्चित भएको छ ।
एनएमबि बैंक कुनै पनि नेपाली बैंकसंग मर्जरमा जाने सोचमा नरहेको सो बैंकका अध्यक्ष पवन गोल्यानले स्पष्ट पारेसँगै एनआईसी एसिया बैंकको अर्को एउटा सपना तुहिएको हो । आर्थिक न्युजसँगको कुराकानीमा गोल्यानले एनएमबि बैंकले कुनै पनि नेपाली बैंकसंग मर्जरमा जाने योजना नबनाएको बताए ।
‘हाम्रो बैंकको मर्जरमा जाने कुनै रणनीति छैन । हामीसँग अहिले नै विदेशी पार्टनर छन् । त्यसैले नेपालका कुनै पनि बैंकसंग मर्जरमा जाने सोच नै छैन’, उनी अगाडी थप्छन्, ‘यदि मर्जरमा जाने भए हामी पहिलो नम्बरमा नै जान्थ्यौँ ।’
यसरी मर्जरबारे आन्तरिकरुपमा समेत छलफल नगरी एनएमबि बैंकले पीठ फर्काएपछि एनआईसी एसिया बैंकमा भने तनाव थपिएको सो बैंक सम्बद्ध स्रोतको भनाइ छ । त्यसो त एनआईसी एसिया बैङ्कप्रति एनएमबि लगायत अन्य बैंकहरुले चासो नराख्नुको अर्को पनि एक कारण रहेको छ ।
नेपालको बैंकिङ क्षेत्रलाई नजिकबाट नियालिरहेका एक अध्येताले भने, ‘एउटा अध्ययन रिपोर्टले सबै बैंकहरुको असलियत देखाएको छ । सार्वजनिक नगरिएको सो रिपोर्टमा एनआईसीको अवस्था निकै दयनीय रहेको देखिन्छ ।’ उनका अनुसार सो अध्ययन रिपोर्टको सूक्ष्म अध्ययन गरिसकेको कारण पनि हुनसक्छ, गोल्यान र उनको बैंक एनएमबि एनआईसीको छेउ पर्ने कल्पना समेत गरिरहेका छैनन् ।
हुन पनि लगभग तीन वर्ष अघि नै लगानी गर्न नहुने भनेर बैंकिङ क्षेत्रभित्र किटान भइसकेका केही उद्योग र क्षेत्रमा एनआईसीको लगानी उच्च रहेको चर्चा छ । यसरी उत्ताउलिएर लगानी गरेका कारण र आन्तरिक व्यवस्थापनमा रहेका गडबडीका कारण सो बैंकलाई धेरैले संशयपूर्ण नजरले हेरिरहेका छन्। नेपालमा माग भन्दा बढी उत्पादन भइरहेका सिमेन्ट, रड जस्ता उद्योगमा गरेका लगानीहरू अहिले उच्च जोखिमका लगानी बन्दै गइरहेका छन् । जसबारे राष्ट्र बैंकले समेत बैंक सञ्चालकहरूलाई पटक पटक खबरदारी गरिरहेको छ ।
हाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा लागि प्रतिस्पर्धामा उत्रिएका रामचन्द्र संघाई समेत सञ्चालक रहेको एनआईसी एसिया बैंकका सञ्चालकहरूले गोल्यान र संघाइ दुवै माडबाडी समुदायका भएकोले सजिलै मर्जरको कुरा मिल्ने भन्ने भाष्य बजारमा स्थापित गराएका थिए । गोल्यानले मर्जरको सम्भावनालाई पूर्णरुपमा नकारेपछि भने त्यो भाष्य समेत 'मनको लड्डु' मात्रै रहेछ भन्ने पुष्टि भएको छ ।
उता गोल्यान भने बरु अर्को नयाँ विदेशी बैंकलाई साझेदारका रुपमा भित्र्याउने योजनामा रहेको बताउँछन् । विदेशी बैंक भित्र्याउने चाहाना राख्नुको कारण समेत उनले स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘साना उद्योग तथा खुद्रा व्यापारहरूमा ऋण दिने हाम्रो बैंकिङ दक्षता पुगेको छैन । त्यस्तो विज्ञता नेपाली बैंकिङ क्षेत्रमा भित्र्याउनका लागि हामी यो क्षेत्रमा लगानी केन्द्रित गरेको विदेशी साझेदार खोज्दैछौं ।’
साना लगानीहरू गर्ने र लघुउद्योगहरुमा गरेको लगानीलाई सहजतापूर्वक उठाउन सक्ने दक्षताको खाँचो औँल्याउँदै उनले भने, ‘त्यसको लागि नयाँ प्रणालीको विकास गर्नु पर्छ । दैनिक पैसा उठाउने चाँजोपाँजो मिलाउनु पर्छ । यस्तो दक्षता भएका छिमेकी मुलुकहरूका बैंकहरुको खोजी गरिरहेका छौँ ।’ यदि त्यस्तो कुनै बैंक भित्र्याउन सकियो भने नेपालमा रहेका अन्य बैंकहरुलाइ समेत उनीहरूबाट सिक्ने अवसर मिल्ने उनको भनाई छ ।
नेपालमा बैंकहरुको सङ्ख्या १५ भन्दा तल झर्न नहुनेमा जोड दिँदै उनले मर्जरका लागि गरिँदै आएको दबाब अब कम हुनुपर्ने पनि सङ्केत गरे । उनको भनाई छ, ‘बैंकको सङ्ख्या धेरै घटाउँदा एकाधिकार बढ्न सक्छ । फेरि केही वर्षपछि सङ्ख्या थप गर्ने नाममा नयाँ लाइसेन्स खुल्न सक्छ । र, नराम्रो बेथिति भित्रिन्छ ।’
प्रतिक्रिया दिनुहोस