
काठमाडौं । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गरी भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबार गर्ने भएको छ । बैंकले बिहीबार सूचना जारी गरी आइतबारदेखि एकीकृत कारोबार गर्ने जानकारी दिएको हो ।
गत साउन २२ गते दुवै कम्पनीले विशेष साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यी दुई कम्पनीबीच प्राप्ति गर्ने समझदारी पत्रमा गत जेठ २२ गते हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकबाट भदौ १५ गते प्राप्ति सम्बन्धी अन्तिम स्वीकृति प्राप्त गरेको प्राइमले कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ २५ गते स्वीकृति पाएको थियो । प्राइम र कन्काई बीच १०० कित्ता कन्काई विकास बैंकको शेयर बराबर ७१ दशमलव ५ कित्ता प्राइमको शेयर दिने गरी शेयर स्वाप रेसियो कायम गर्ने सम्झौता भएको थियो ।
सोही सम्झौता बमोजिम आइतबारदेखि प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुनेछ ।एकीकृत कारोबारपश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्राइम कमर्सियलको कमलपोखरी स्थित केन्द्रीय कार्यालयमा नै रहने बैंकले सूचनामा उल्लेख गरेको छ । एकीकृत कारोबार गर्दा दुवै संस्थाको तथ्याङ्कलाई सफ्टवेयरबार वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउन भदौ २८ गते शनिबार एक दिन कन्काई विकास बैंकले प्रदान गर्दै आएको बैंकिङ सेवा बन्द रहने छ ।
कन्काईलाई प्राप्ति गरेपश्चात प्राइम बैकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड पुग्नेछ । प्राप्तिपश्चात बैंकको हाल रहेको संख्या ७३ मा २१ वटा शाखा थप भई ९४ पुग्नेछ । प्राइमले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मर्र्जर तथा प्राप्ती गर्दै जाने रणनीति अन्तर्गत कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई प्राप्ती गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस