aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘अति गरिब र विपन्नहरूलाई ऋण दिँदा जोखिम हुन्छ भन्ने कुरा सत्य होइन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ चैत्र २०७९

डा. शिव राम प्रसाद कोइराला, यो नाम नेपालको विकास बैंक र लघुवित्त क्षेत्रमा एक स्थापित नाम हो। यो क्षेत्रमा तीन दशकभन्दा लामो समय व्यतीत गरिसकेका कोइरालाले अहिले नेतृत्व गरिरहेको संस्था हो, साना किसान लघुवित्त वित्तीय संस्था। साना किसान लघुवित्त स्थानीय स्तरमा साना कृषकहरूको स्वामित्वमा रहेको समुदायमा आधारित दिगो सहकारी संस्थाहरू निर्माण र त्यस्ता संस्थाहरूलाई सहयोग गरेर गरिबी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त रहेको संस्था हो।  त्यसैले यसले विशेष गरी साना किसान कृषि सहकारीहरू  र अन्य सबै समुदायमा आधारित सहकारीहरूलाई थोक ऋण र प्राविधिक सहयोग सेवाहरू प्रदान गर्दै आएको छ। अहिले साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिव राम प्रसाद कोइराला छन् जो सँग लघुवित्त व्यवस्थापन, बैङ्किङ, ग्रामीण अर्थतन्त्र, कृषि उद्यम सञ्चालन र दिगोपनाबारे गहिरो ज्ञान छ। आर्थिकन्युजकी सम्झना बरुवालले उनै कोइरालासँग लघुवित्त, सहकारी देखी समसामयिक अर्थतन्त्रका बारेमा संवाद गरेकी छिन्। प्रस्तुत छ सो कुराकानीको सम्पादित अंश :  

तपाईँहरू साना किसान सहकारीसँग काम गरिरहनु भएको छ । अहिले सहकारीमा देखिएको सङ्कटले कतिको सकस पारेको छ ?

वित्तीय क्षेत्रमा सङ्कट आयो भने स्वाभाविक रुपमा हाम्रा साना किसान सहकारीहरूलाई केही हदसम्म प्रभावित गर्छ  । तर, हाम्रो साना किसान सहकारीका सदस्य र ऋण कारोबार गरिरहनु भएका ऋणीहरूमा अनुशासन रहेको पाइन्छ । अरू सहकारीभन्दा साना किसानले पृथक् हिसाबले काम गरिरहेको, सुशासन राम्रो भएको र सञ्चालकहरूले पनि आफ्ना सदस्यहरूको नियमित सम्पर्क भेटघाटका साथै सदस्यहरूको चिन्ता र चासोलाई सम्बोधन गरेका कारण पनि समस्या परेको छैन ।

यसका साथै सदस्यहरुमा वित्तीय साक्षरता र सहकारी साक्षरता कार्यक्रम नियमित रुपमा सञ्चालन गरेको कारणले पनि अहिलेको समस्याले साना किसान सहकारी सञ्जालमा धेरै प्रभाव पारेको छैन ।

हालको स्थिति कस्तो छ ?

हाम्रा सदस्यहरू बढिरहेका छन् । ऋणको कारोबार गरिरहेका छन् । सदस्यहरुमा सहकारी शिक्षाका वित्तीय कार्यक्रम सञ्चालन भइरहेका छन् । हिजो एउटा भैँसी पाल्ने किसानहरूले अब तीन वटा पाल्छु भन्न थालेका छन् । थोरै तरकारी खेती गर्ने किसानहरू पनि धेरै खेती गर्छु भनेर ऋण माग्न आइरहेका छन् । निर्वाहमुखी कृषिबाट व्यवसायमुखी कृषि गर्छौ भनेर पुँजी र प्राविधिक सहयोग माग्न आइरहेका छन् ।

सदस्यहरू पनि आर्थिक गतिविधिमा क्रियाशील देखिन्छन् । हिजोको विपन्नहरूको जीवनस्तरमा पनि सुधार देखिन्छ । महिला सदस्यहरूको सङ्ख्या बढेको छ भने कुल सदस्यहरूको सङ्ख्या ११ लाख पुगेको छ । ग्रामीण अर्थतन्त्रको संरचनात्मक रूपान्तरण गर्ने लक्ष्य अनुरूपका रणनीतिहरू पनि नियमित रुपमा सञ्चालन भइरहेका छन् ।

खासमा साना किसान सहकारीहरू र तपाईँहरू बिचको सम्बन्ध चाहिँ कस्तो हो ?

मुलुकभरका २३१ वटा साना किसान सहकारीहरू यो लघुवित्तको प्रमोटर पनि हुन्। २०५८ सालमा यो लघुवित्त बैंकको रुपमा स्थापना भएको हो । यो वित्तीय संस्थाको उद्देश्य साना किसान कृषि सहकारीहरूलाई थोक कर्जा प्रदान गर्ने, सुशासनका कुरा सिकाउने, सहकारी अभ्यासमा उत्प्रेरित गर्ने, साना किसान सहकारीका सदस्यहरूलाई उत्थान गर्ने, कृषिमा लाग्न उत्प्रेरित गर्ने, समुदायका युवाहरूलाई कृषिमा लगाउने हो । 

यो वित्तीय संस्था पनि मूल रुपमा साना किसान सहकारी मार्फत सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउने र विकासको मूलधारमा उनीहरूलाई समेट्ने काममा लागेको हुनाले एक आपसमा अन्तरसम्बन्ध छ ।

साना किसान लघुवित्तले गर्ने काम र लगानीका क्षेत्रहरू के–के हुन् ?

साना किसान लघुवित्त आफै पनि राष्ट्र बैकबाट थोक कर्जा प्रदान गर्ने अधिकार पाएको संस्था हो । यसले साना किसान सहकारीहरूलाई निश्चित उद्देश्यका लागि थोक कर्जा प्रदान गर्छ । यो लघुवित्तले अहिलेसम्म ७६ जिल्लामा रहेका १३ सय साना किसान सहकारीहरूलाई ३२ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ  । 

संस्थाले उक्त कर्जा कृषि, पशुपालन, तरकारी खेती, कृषि प्रशोधन उद्योगमा कर्जा लगानी गर्छ । उक्त कर्जा सोही क्षेत्रमा उपयोग भएको छ की छैन भन्ने कुरा पनि हेर्छ । एसियाली विकास बैकबाट सरकारले प्राप्त गरेको ऋण गाउँमा रोजगारी सिर्जना गर्न साना र मझौला कृषि प्रशोधन उद्योग सञ्चालन भए नभएको हेर्ने र प्राविधिक सहयोग जुटाउने काम पनि गर्छ।

यो लगानीले अहिले पुर्व मेचीदेखि महाकालीसम्म विभिन्न उद्योगहरू स्थापना भएका छन् । महिलाहरूका लागि सिप विकासका तालिमहरू पनि प्रदान भएको छ । यो संस्थाले कृषि उत्पादनमा पनि साना किसान सहकारी साझेदारी मार्फत उत्पादनका लागि काम गर्छ । यसका साथै वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई कृषि सँग सम्बन्धित कामहरू गर्नका लागि सहुलियतमा ऋण दिने काम गर्छ । खास गरी कृषिको रूपान्तरण, व्यवसायीकरणका साथै सामाजिक र आर्थिक रूपान्तरणका लागि यो संस्थाले काम गर्छ ।

अन्य लघुवित्त भन्दा साना किसान लघुवित्तलाई के कसरी पृथक् देखाउनुहुन्छ ?

कामको हिसाबले साना किसानले पनि अरू लघुवित्त जसरी नै काम गर्छ  । तर, साना किसान त्यस्ता समुदायमा आधारित सहरकीमा काम गर्छ जुन समुदायले नै आफ्ना लागि बनाएको हो । यो सहकारीमा कम्तीमा पनि ३७५ सदस्यहरू स्थानीय समुदायका हुन्छन् । सहकारीमा कारोबार गर्ने, ऋण लिने, लाभांश खाने सबै त्यही समुदायका हुन्छन् ।

अरू लघुवित्तहरू कम्पनीमा दर्ता भएको हुन्छ । सो लघुवित्तको सञ्चालक को हो स्थानीय समुदायलाई थाहा हुँदैन । तर, सहकारीमा समुदायका मानिस नै सदस्य हुन्छन् । सबै कारोबार उनीहरूबाट नै हुन्छ । लघुवित्त कम्पनीहरूको नाफा कहाँ वितरण हुन्छ भन्ने कुरा थाहा हुँदैन । हाम्रो सहकारीको नाफा भने त्यही सदस्यहरुमा नै वितरण हुन्छ ।

साना किसान सहकारी मुख्य विशेषता निरक्षर, घरजग्गा नभएका, व्यवसाय गर्ने सोच नभएकाहरूलाई सदस्य बनाएर आवश्यक सिप र क्षमता प्रदान गर्ने हो। त्यसपछि उनीहरूलाई व्यावसायिक बनाउँदै 'भाग्यले नै गरिब बनाएको हो' भन्ने सोच भएकाहरूलाई हाम्रो साना किसान लघुवित्तले तालिम दिएर, सिप सिकाएर उसको मनस्थितिमा परिवर्तन ल्याउन सहयोग गर्छ ।

हाम्रो संस्थाले उत्पादनशील क्षेत्रमा बढी लगानी गर्छ । प्रवाह गरेको ऋण पनि निश्चित ठाउँमा उपयोग भए नभएको नियमित रुपमा अनुगमन गर्ने गर्छ । यसले गर्दा पनि अहिले अरू वित्तीय क्षेत्रमा जस्तो ऋण नउठ्ने समस्या हाम्रो साना किसान लघुवित्तमा छैन ।

धितो नभएका सदस्यहरूलाई लगानी गर्दा जोखिम कत्तिको छ ?

हाम्रो अनुभवमा धेरै जोखिम छैन । पैसा अरूको हातमा दिने बित्तिकै जोखिम त सबैतिर हुन्छ । तर, जोखिमलाई न्यूनीकरण कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । अति गरिब र विपन्नहरूलाई दिएको ऋण जोखिम हुन्छ भन्ने कुरा हाम्रो अनुभवमा छैन । उनीहरूलाई ऋण दिनुपुर्व चेतना र वित्तीय साक्षरताका बारेमा जानकारी दिनुभयो र उद्देश्यमूलक काममा प्रयोग गर्न सिकाएर सिप, ज्ञान र क्षमता प्रदान गरी पुँजी दिनुभएको छ भने जोखिम हुँदैन ।

नेपालमा गहिरिँदै गएको आर्थिक तथा वित्तीय सङ्कटको असर साना किसान लघुवित्तमा कस्तो छ ?

लघुवित्त क्षेत्रमा त यसको असर परेको सुनिएको र देखिएको छ । ऋण नतिर्ने भन्ने भ्रमपूर्ण समाचार आएका छन् । केही मानिसहरू भ्रम छर्न लागिपरेका पनि छन् । हाम्रो संस्थामा पनि प्रभाव छैन भन्न त मिल्दैन । तर, हाम्रो नियन्त्रण भन्दा बाहिर गएको अवस्था छैन । 

अहिले बजारमा छाएको लघुवित्त प्रतिको हल्लाको पछाडि लाग्नु हुँदैन । यो गरिबलाई झन् गरिब बनाउने कुरा मात्र हो । लघुवित्त र फाइनान्सियिल क्षेत्रलाई ठूलो चुनौती हो । यो मुलुकलाई नै अस्थिरता तर्फ धकेल्ने प्रयास हो । यसका पछाडि लाग्नु हुँदैन । ऋण लिएपछि तिर्नुपर्छ ।

लघुवित्त वित्तीय संस्थाको पुँजीको स्रोत समुदायका मानिसबाट लिएको बचत र वाणिज्य बैङ्कहरूबाट लिएको विपन्न वर्ग कर्जा हो । लघु कर्जाका उपभोगकर्ताहरूबाट नै केही बचत लिएको हो । बचतकर्ताले बचत फिर्ता लिन्न भन्नु पर्‍यो अनि मात्र ऋण मिनाहा हुन सक्छ ।

वा वाणिज्य बैङ्कहरूबाट लिएको ऋण बैंंकहरुले तपाईँहरूलाई दिएको ऋण फिर्ता चाहिँदैन भन्नुपर्‍यो । अनि ऋण मिनाहा हुनसक्छ । तर, बैङ्कहरूले ऋण फिर्ता लिँदैनौँ भन्नै सक्दैनन् । किनकि उनीहरूले पनि सर्वसाधारणबाट नै पैसा उठाएका हुन् । या त सर्वसाधारणले हामी बचत फिर्ता लिँदैनौँ भन्नु पर्‍यो । यो कति सम्भव छ ?

बचतकर्ताहरूले बचत फिर्ता लिँदैनौँ भन्दैनन् । अनि यो ऋण मिनाहा भन्ने शब्द कहाँबाट आउँछ । यो सम्भव नै छैन । मिटर ब्याजबाट सदस्यहरूलाई बचाएको छ । सहुलियत रुपमा ऋण दिएर विपन्नहरूको जीवनस्तरमा सुधार्न लागि रहेको छ । लगानी गर्दा डुब्लिकेशनको समस्या आएको हो । लगानी गर्दा लघुवित्तका सञ्चालहरुले पनि ध्यान नदिएका हुन् । तर, यसका लागि राष्ट्र बैकले पनि नियमित रुपमा अनुगमन र सुपरिवेक्षण गर्नुपर्छ र सस्थाहरुले पनि गरेको त्रुटिलाई सुधार्नु पर्छ ।

साना किसान लघुवित्तले सामाजिक क्षेत्रमा पनि धेरै काम गरेको छ भन्ने सुनिन्छ ? केही उदाहरणहरू बताइदिनुहोस् न ?

सामाजिक क्षेत्रमा काम गरेको धेरै उदाहरणहरू छन् । खास गरी सामुदायिक विद्यालयहरूमा पङ्खा जडान गर्ने, फर्निचरका लागि सहयोग गर्ने, चौताराको निर्माण गर्ने कृषि उत्पादनका लागि ट्याक्टर किन्नका लागि सहयोग गर्ने गरेका छौँ । यसका साथै शिक्षा, स्वास्थ्य लगायतका विभिन्न प्राकृतिक विपत्तिको समयमा पनि सहयोग गर्ने गरेका छौँ । कतिपय साना किसान सहकारीको भवन  निर्माण गर्न पनि सहयोग गरिदिएका छौँ ।

अहिले साना किसानको वित्तीय अवस्था र यसको आगामी कार्य योजना कस्तो छ ?

हाम्रो वित्तीय अवस्था राम्रो छ । अहिले नेटवर्थ प्रतिशेयर ३ सयको हाराहारीमा छ । विगत चार/पाँच वर्षदेखि २५ प्रतिशत भन्दा बढी लाभांश वितरण गरिरहेका छौँ । बर्सेनि साना किसान सहकारी र सदस्यहरूको सङ्ख्या बढ्दै गएको छ । निष्क्रिय कर्जा एक प्रतिशत भन्दा पनि कम छ । प्रशासनिक खर्च पनि एक प्रतिशत भन्दा कम छ । 

अब आउने दश वर्ष भित्रमा कम्तीमा २० लाख परिवारमा पुग्ने योजना रहेको छ । हाम्रो संस्था पुग्न बाँकी रहेको हुम्लामा पनि यसै वर्ष सेवा प्रदान गर्ने योजना रहेको छ । यसका साथै युवाहरूलाई कृषिमा आकर्षित गर्ने र रोजगारीको सिलसिलामा बिदेसिन लागेका युवाहरूलाई स्वदेशमा नै रोजगारीको सिर्जना गरी व्यावसायिक कृषिमा लगाउने योजना रहेका छन् ।

 

लघुवित्तहरूले आम ग्राहकहरूलाई बिचल्ली बनाएको भन्ने कथाका बीच तपाईहरुले चाहिँ धेरैको उत्थान गरेको सुनिन्छ केही प्रतिनिधि घटनाहरू बताइदिनुहोस् न ?

लघुवित्तहरूले आम ग्राहकहरूलाई बिचल्ली बनाएको भन्ने कुरा नै गलत हो । लघुवित्तका पनि ३३ लाख ऋणीहरू छन् । त्यसमध्ये केही सयको ऋणको डुब्लिकेशसनका कारण बिचल्ली भएको होला । यसमा ऋण लिन ले पनि विचार गर्नुपर्छ । ऋण लिएपछि सदुपयोग गर्नुपर्छ । ऋण लिएर ब्याज तिर्नुपर्छ भनेपछि तिर्ने ब्याज भन्दा बढी प्रतिफल आउने ठाउँमा लगानी गर्नुपर्छ । 

ऋणको सदुपयोग नगरेका कारण बिल्लिबाठ भएकाहरूलाई मिस लिड गरेर भ्रम फैलाइएको हो । साना किसान संस्थाबाट ऋण लिएका सदस्यहरूले चिया उद्योग, दूध डेरी लगायतका विभिन्न उद्योग खोलेर व्यवसाय गरेका छन् । किसानलाई बिउ उत्पादन गरेर प्रशोधन गरी बाँडिरहेका छन् । बाख्रा पालनबाट पनि मनग्ये आम्दानी गरिरहेका छन् ।

युवाहरूले व्यावसायिक रुपमा तरकारी खेती गरेर बिक्री गरिरहेका छन् । साना किसान विकासको मूल अभियानको मूल उद्देश्य आजका विपन्नहरू भोलिका सम्पन्न हुन् भन्ने चिनाउने हो । महिलाहरूमा नेतृत्व गर्न सक्ने क्षमताको विकास गराउने हो । उद्यमशीलता विकास गर्ने नै हाम्रो उद्देश्य हो । 

 

प्रतिक्रिया दिनुहोस