aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

आजदेखि चेक नकाटी रकम भुक्तानी गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
आजदेखि चेक नकाटी रकम भुक्तानी गर्न सकिने

काठमाडौं । आजदेखि  चेक नकाटी रकम भुक्तानी गर्न सकिने भएको छ ।  रियल टाइम बेस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा आएपछि सर्वसाधारणले उक्त सुविधा पाएका हुन्। यसका लागि पहिलो चरणमा २८ वटै वाणिज्य बैङ्क र राष्ट्र बैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ । राष्ट्र बैकले आइतबार २७ र सोमबार एउटा गरी २८ वटै बैंकसँग सम्झौता गरेको जनाएको छ । 

यस व्यवस्थामा ग्राहकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन् । हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ। आजबाट आरटीजीएस कार्यान्वयनमा आएपछि उक्त अवस्थाबाट छुट्कारा पाइने भएको हो । यसमा चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ । 

हुन त, यसअघि नेपाल क्लियरिङ हाउसमार्फत सञ्चालनमा आएको आईपीएस कनेक्ट प्रणालीमार्फत पनि चेकविना नै रकम स्थानान्तर गर्न सकिन्छ ।  यो प्रणालीबाट धेरै ठुलो रकम स्थानान्तरण गर्न अप्ठ्यारो हुन्छ । तर आरटीजीएसमार्फत ठुलो रकम पनि तत्काल भुक्तानी गर्न सकिन्छ।

आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नुपर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उतिबेलै रकम स्थानान्तरण हुनेछ । यो प्रणालीको प्रमुख फाइदा भनेकै तत्काल अर्को खातामा रकम जम्मा गर्न सकिने रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

आरटीजीएस प्रणालीमार्फत रकम स्थानान्तर गर्दा चेक काट्नु पर्दैन । यो प्रणालीका लागि बैङ्कले निश्चित फाराम तयार पारेका हुन्छन् । ग्राहकले सोही फाराममार्फत आफूले चाहेको व्यक्तिको बैङ्क खातामा रकम पठाउन सक्छन् ।

सुरुमा राष्ट्र बैङ्कले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो । २० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा भने अनिवार्य रूपमा आरटीजीएसमार्फत गर्नुपर्ने बताएको थियो । 

भर्खर मात्र यो प्रणाली सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्ने सुविधा बैङ्कले दिएको छ ।

प्रतिक्रिया दिनुहोस