
काठमाडौं । लघुवित्तहरूले गरिब किसानको घरमा ताला लगाएका र भैँसी डोर्याएका घटनाहरू सार्वजनिक भइसकेका छन् । तर, कुनै बैंकले त्यस्तै अर्को हर्कत गरेको चाहिँ अहिलेसम्म बाहिर आएको थिएन ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले खराब ऋणीहरूलाई कालोसूचीमा राख्ने स्पष्ट प्रावधान गरेकै छ । खराब ऋणीहरूलाई ऋण तिर्न बाध्य बनाउने धेरै तरिकाहरू छन् । जसमा कालोसूचीमा राख्नेदेखि ऋण असुली न्यायाधिकरण मार्फत कारबाही अगाडी बढाउनेसम्म हो ।
तर, विगतमा आँखा चिम्लेर जथाभाबी लगानी गर्ने, बैंक सञ्चालक र कर्मचारीहरूको मिलेमतोमा जोखिमपूर्ण लगानी गर्दै आएको एनआईसी एशिया बैंकले अर्को अनौठो हर्कत गरेको छ । यस बैंकले ऋणीबाट ऋण असुल्न कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्रचार गरेको तथ्य फेला परेको छ ।
ऋण असुली न्यायाधिकरणमा पनि ऋण असुल्न मुद्दा हाल्नेको पहिलो नम्बरमा रहेको एनआईसी एशिया बैंकले कम्पनी रजिष्ट्रार कार्यालयलाई लगभग एक सय वटा पत्र पठाएको छ । रोचक त के छ भने सो पत्रको ब्यहोरा अदालतको आदेश जस्तो छ । जसको विषयको ब्यहोरा नै यस प्रकार छ: बैंकको सम्पूर्ण कर्जा चुक्ता भुक्तान नभएसम्मको लागि कालोसूचीमा समावेश ऋणी/कम्पनी/सञ्चालक/जवानीकर्ता/शेयरधनीको शेयरहरू हस्तान्तरण/कारोबार, कम्पनी अद्यावधिक, कम्पनीको सञ्चालक अद्यावधिक, प्रबन्ध पत्र/नियमावली, संशोधन, अद्यावधिक, निजहरूको लगानीमा नयाँ कम्पनी दर्ता लगायतका कामहरू रोक्का गरिपाऊँ ।
यो पत्र देखेर कम्पनी रजिष्ट्रारका हाकिमहरू नै छक्क परेका छन् । उनीहरू भन्छन्, ‘यो अनुरोध हो की आदेश हो ?’ विगतमा कहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट यस प्रकारका पत्रहरू नआएको बताउँदै कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार्ड महेश बराल भन्छन्, ‘यस्तो पत्र कसैको कहिले आएको पनि थिएन । लिएका पनि थिएनौँ । कानुन अनुसार हामीले आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्ने हो । तपाईँहरूले भनेजस्तो हुँदैन भन्ने जवाफ दिएका छौँ ।’
‘तथापि पत्र आइसकेपछि कुरा के हो ? समस्या के हो ? बुझौँ भनेर ऋणीलाई लिएर तपाइहरू पनि आउनु होस् भनेर भनेका थियौँ अहिलेसम्म आएका छैनन’, उनले भने ।
यसबारे आर्थिक न्युजको जिज्ञासामा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले कुनै पनि प्रतिक्रिया दिन चाहेनन् । तर, उक्त बैंकका प्रमुख व्यापार अधिकृत अर्जुनराज खनियाले भने ऋण दिने बेलामा नै सबै कुरामा ल्याप्चे र सहिछाप हानेर दिने गरेको बताए । उनले भने, ‘के के प्रक्रिया अगाडी बढाउने भन्ने सबै अधिकार बैंकलाई हुन्छ । हामीले ऋण दिँदा सबै कागजमा ऋणीसँग पहिले नै सहीछाप गराएका हुन्छौँ ।’
आफूखुसी खराब लगानी गर्ने र अहिले खराब कर्जाको मात्रा अत्यधिक देखिएपछि एनआईसी एशिया बैंकको व्यवस्थापन पक्ष रन्थनिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्र नै लेखेको विषयलाई धेरै विश्लेषकहरूले बैंक व्यवस्थापन पक्षको विवेक नै कमजोर बनेको रूपमा समेत लिएका छन् ।
हुन पनि बैंकमा लिएको कर्जा नतिर्ने कम्पनीको अद्यावधिक नै नगर्ने भन्ने कुरा कम्पनी रजिष्ट्रार कार्यालयले कल्पना नै गर्न सक्दैन । त्यस्ता कम्पनीहरूको शेयर हस्तान्तरण रोक्नु पर्ने कुनै आवश्यकता कार्यालयले देख्ने कुरा पनि भएन । तर, ती सबै माग एनआईसी एशिया बैंकले राखेको छ ।
सबैभन्दा अनौठो त यो छ की बैंकको कालोसूचीमा परेको कुनै कम्पनीका कुनै पनि शेयरधनिहरुलाई अरू नयाँ कम्पनी नै खोल्न नदिनु भन्नेसम्मको आदेश एउटा ठिक ढंगले आफ्नो बैंक चलाउन नसक्ने बैंक व्यवस्थापनबाट सरकारको महत्त्वपूर्ण निकाय कम्पनी रजिष्ट्रार कार्यालयलाई छ । त्यो कसरी सम्भव हुन्छ भन्ने कुरा पत्र पठाउनेले पनि सोच्नु पर्ने हो ।
तर, यदि के गर्न हुन्छ के गर्न हुँदैन भन्ने जानकारी रहेका एनआईसी एशिया बैंकले राखेको हुँदो हो त लाखौँ लाख निक्षेप र लगानीकर्ताहरूको सम्पत्ति जोखिममा पर्नेगरि अनियन्त्रित खराब कर्जा लगानी नै गर्ने थिएन । खराब लगानी नहुँदो हो त यसरी दुनियाँ हास्नेखालको पत्र पठाउनु पर्ने बाध्यतामा बैंक पर्ने नै थिएन ।
प्रतिक्रिया दिनुहोस