
काठमाडौं । चैत ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कुमारी सुनौलो लगानी योजनाको इकाई आजसम्म मात्र विक्रीमा रहने भएको छ । योजना व्यवस्थापक कुमारी क्यापिटलले सञ्चालन गर्न लागेको खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि १० करोड इकाई विक्री गर्न लागिएको हो ।
कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्काशनमार्फत विक्री खुला गरिएको हो । यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाई छ ।
क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।
यस योजना व्यवस्थापक कुमारी क्यापिटलले दोस्रो वर्षदेखि इकाईधनीहरूलाई लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस योजनाबाट लगानीकर्ताले दोस्रो बर्ष पश्चात् ८ प्रतिशत, अनि तेस्रो र चौथो वर्षमा १० प्रतिशत तथा पाँच देखि १० वर्षसम्म वार्षिक १५ प्रतिशतका दरले लाभाशं प्रतिफल पाउने प्रक्षेपण गरिएको जानकारी दिएका छन् ।
उनले दश वर्षको अन्त्य सम्ममा योजनाको खुद सम्पत्ति मूल्य २७ रूपैयाँ ८६ पैसा पुग्ने प्रक्षेपण गरिएको समेत बताए । क्यापिटलले गरेको प्रतिफल प्रक्षेपणलाई आधार मान्दा १० वर्षमा लाभाशं सहित कुल २९६ दशमलव ६२ प्रतिशत प्रतिफल हुन आउने भनाई शर्माको छ ।
खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछैन । योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरिद बिक्री गर्न सकिनेछ ।
पहिलो चरणको निष्काशन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महिनाभित्र यो योजनाको इकाई निरन्तर निष्काशन तथा बिक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस