aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेरूडे र मिर्मिरे लघुवित्तले मर्जर प्रस्ताव वैशाख १० गते पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
नेरूडे र मिर्मिरे लघुवित्तले मर्जर प्रस्ताव वैशाख १० गते पारित गर्ने

काठमाडौं । नेरूडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी वैशाख १० गते मर्जर प्रस्ताव पारित गर्ने भएको छन् । गत पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले विशेष साधारण सभामार्फत मर्जर प्रस्तावलाई स्वीकृति दिन लागेका हुन । मिर्मिरे लघुवित्तले होटल सारथी , धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउसो १२ः३० बजे सभा गर्न लागेको हो भने नेरुडे लघुवित्तले उद्योग संगठन मोरङको सभाहल विराटनगरमा विहान ११ बजे सभा गर्न लागेको हो ।

मोरङ्ग जिल्लाको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोक जिल्ला बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था समान हैसिएतमा एक हुन लागेका हुन । विशेष साधारण सभा मार्फत मर्जर प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय दुबै कम्पनीले गर्नेछन् । विशेष साधारण सभाका लागि दुबै कम्पनीले वैशाख ३ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा वैशाख २ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

हाल नेरूडे लघुवित्तको चुक्तापूँजी रू. ७३ करोड २० लाख कायम भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट साविकको चुक्तापूँजी रू. ६० करोडको आधारमा २२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गत माघ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ । 

त्यस्तै मिर्मिरे लघुवित्तको चुक्तापूँजी पनि हाल रू. ६५ करोड ३३ लाख ८२ हजार कायम भएको छ । मिर्मिरे लघुवित्तले गत वर्षको मुनाफाबाट साविकको चुक्तापूँजी रू. ५३ करोड १२ लाख ५ हजारको आधारमा २३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गत पुस ३० गते सम्पन्न साधारण सभाबाट पारित गरेको हो । 

मिर्मिरेको बोनस समेत सूचीकृत हुन बाँकी छ । दुबै कम्पनी समान हैसिएतमा मर्जरमा जान लागेकाले एकिकृत कारोबारपछि चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५३ लाख ८२ हजार कायम हुनेछ । मिर्मिरे लघुवित्तले यस अघि बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाइ प्राप्ति गरी गत भदौ १५ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस