
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस बैंकले गत वर्ष ८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कम्पनीले ८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । विगत दश वर्षको लाभांश वितरणको अवस्थालाई हेर्दा कम्पनीले अधिकतम ५२ दशमलव ६४ प्रतिशतसम्म लाभांश तिरण गरेको अवस्था छ ।
आर्थिक वर्ष ०६९/७० को मुनाफाबाट कम्पनीले हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको हो । उक्त वर्ष कम्पनीले ५० प्रतिशत बोनस शेयर र २ दशमलव ६४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड ९६ लाख ९४ हजार रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. २ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. १ करोड २ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।
प्रतिक्रिया दिनुहोस