
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज कुमार थापाले छोटो समयमै अर्थतन्त्रमा १० प्रतिशत ब्याजदरमा परिवर्तन हुनु भनेको ठूलो भुईचालो आउनु रहेको बताएका छन् ।
मंगलबार काठमाडौं महागरपालिकाका अन्तगर्तको सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी समस्या समाधानका लागि सुझाव विश्लेषण तालिम कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘कोरोना महामारी पछिको १९ महिनामा ब्याजदरमा धेरै परिवर्तन आएको छ । जसले गर्दा उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा छन् । कोरोनाको समयसम्म ७ प्रतिशतमा ऋण लगानी गरेका बैंकहरुले १९ महिनामा नै ब्याजदरमा १० प्रतिशतले बढाएका छन् । छोटो समयमै १० प्रतिशत ब्याजदर परिवर्तन हुनु ठूलो भुईचालो आउनु हो ।’
यसका साथै उनले बैंकहरुले ऋण लगानी गर्न नसकेको समेत बताएका छन् । उनले भने, ‘१९ महिनादेखि बैंकहरुले ऋण प्रवाह गर्न सकेका छैनन् । न्युरोडका व्यापारीहरु भाडा तिर्न नसकेर सटर बन्द गरेर बसेका छन् । बचत फिर्ता गर्न सक्नु मात्रै तरलता छ भन्ने हुँदैन । ऋण लगानी गर्न नसक्नु पनि तरलताको संकट हो ।’
देशको भुगोल अनुसार ५ हजार भन्दा बढी सहकारीको आवश्यकता नरहेको उनको भनाई छ । उनले भने, ‘हाम्रो भुगोल सानो छ । ३० हजार सहकारीलाई नियमन गर्न सकिदैन । एउटा गोठालोले एउटा गाई मात्र राम्ररी हेर्न सक्छ । १० वटा गाईको गोठालो लाग्दा तितर वितर हुन्छ । अहिले सहकारीमा पनि यही भएको छ । सहकारीलाई मर्जरमा लगी ५ हजारमा झार्नुपर्छ ।’
आर्थिक मन्दी र बढ्दो ब्याजदरले समग्र क्षेत्रमा समस्यामा परेको उनको भनाई छ । उनी भन्छन्, ‘अहिले हामी ट्रेड साइकलको डिप्रशनको फेजमा छौं । सबै सडक आन्दोलनमा छन् । अब यो आन्दोलन सघनसम्म हुनेछ ।’
यसका साथै यस वर्षको सहकारी दिवस तनावग्रस्त रुपमा मनाइएको समेत उनले गुनासो गरे । ‘सबैको अनुहारमा आक्रोश र पिडा थियो । यस वर्ष पहिलेको जसरी हर्ष र उल्लासका साथै कसैले पनि सहकारी दिवस मनाएनन्’, उनले भने ।
प्रतिक्रिया दिनुहोस