aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

हामी बैंक सञ्चालकलाई धेरै नाफा चाहिँदैन, ब्याजदर घटाउनु पर्छ: गोल्यान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
हामी बैंक सञ्चालकलाई धेरै नाफा चाहिँदैन, ब्याजदर घटाउनु पर्छ: गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले केही फटाहाका कारण बैंकका सोझासाझा ग्राहकहरूलाई समेत ऋण तिर्नु पर्दैन भन्ने भ्रम परेको गुनासो गरेका छन् । अध्यक्ष गोल्यानले मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । 

उनले सञ्चारमाध्यमहरूलाई त्यो भ्रम चिर्न समेत आग्रह गरेका छन् । बजारमा तरलताको मात्रा केही बढे सबै क्षेत्रमा सहजता सिर्जना हुने बताउँदै उनले अर्थ सचिव, प्रधानमन्त्री र अर्थमन्त्रीले संयुक्तरुपमा निर्माण व्यवसायीहरूको बाँकी रहेको भुक्तानी चैत्र मसान्तभित्रमा गरिसक्ने प्रतिवद्धता गरेबाट आफूहरू आशावादी बनेको समेत जानकारी दिए । 

गोल्यानले स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने उद्योगहरूलाई प्रवर्द्धन गर्न र आयात प्रतिस्थापन गर्न बैंकहरुले कम ब्याजदरमा ऋण प्रवाह गर्नु पर्ने पनि बताएका छन् । ब्याजदर कम गर्न गभर्नरले हिच्किचाउनु स्वभाविक भएको भन्दै उनले चर्को ब्याजदरले ठूला, मझौला र साना सबै खालका उद्योगहरू समस्यामा परेको तथ्यलाई पनि ध्यानमा राख्नु पर्ने बताए । 

यदि ब्याजदर कम गर्न सकिएन भने बैंकहरुले ग्राहक नै नपाउने स्थिति बन्ने चिन्ता समेत उनले व्यक्त गरे । उनले भने, ‘यदि ग्राहक नै भएनन् भने बैंकको के काम । बैंक पनि बाच्न सक्दैन । त्यसैले ब्याजदर घटाउन हामी लागिपरेका छौँ ।’ 

चालू पुँजी खर्चमा बैंकहरुले लगानी गर्ने विषयमा समस्या रहेको बताउँदै उनले सिमेन्ट र रड जस्ता क्षेत्रहरूमा भएको लगानी गलत भएको समेत बताए । अध्यक्ष गोल्यानले नेपालमा कुनै एउटा क्षेत्रले धेरै नाफा कमायो भने इश्र्या गरेर धेरै वटा खुल्ने काम कुनै अध्ययन अनुसन्धान विना नै गर्ने गरेकोले समस्या सिर्जना भएको बताए । 

उनले भने, ‘एउटा बीमा कम्पनीले अर्बौँ कमायो भनेर डाहा गर्दै धेरै वटा खोल्न दिने काम भएको छ । बैंकिङ क्षेत्रमा पनि त्यस्तै भएको हो । चाहिने भन्दा बढी खुलेका हुन् ।’ 

समग्र मुलुकको अर्थतन्त्र ठिक नबन्ने हो भने बैंक वित्तीय संस्थाको समस्या समाधान नहुने बताउँदै उनले बैंक सञ्चालकहरूलाई धेरै नाफा नचाहिएको जिकिर गरे । ‘हामीले नाफा चाहियो भनेर बैंक व्यवस्थापनलाई दबाब दिएका छैनौँ । ब्याज घटाउनु पर्छ भनेर लागिरहेका छौँ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस