
काठमाडौं । एभरेष्ट बैंकले असोज २६ गतेदेखि म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु बन्द गर्ने भएको छ । सुरक्षाका हिसाबले कमजोर हुने भन्दै बैंकले म्याग्नेटिक स्ट्रिप कार्डको सट्टा चिप कार्ड लिन आफ्ना ग्राहलाई आग्रह गरेको छ । हालैमात्र चिनियाँ ह्याकरहरुले विभिन्न बैंकका एटीएम ह्याक गरी करोडौं रुपैयाँ लुटेका थिए । त्यसपछि बैंकले थप सुरक्षा सतर्कता अपनाउन लागेको हो ।
नयाँ कार्ड लिनका लागि एभरेष्टले ग्राहकहरुलाई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न भनेको छ । यस्तै, बैंकले कार्ड प्रयोगका लागि एसएमएस अलर्ट सेवा अनिवार्य भएकाले आफ्नो वास्तविक मोबाइल नम्बर पनि दर्ता गर्न भनेको छ ।
के हो चिप कार्ड ?
चिप प्रयोगकर्ताको तथ्यांक सुरक्षाका लागि एटीएममा राखिने एउटा उपकरण हो । यसमा कार्डवालाको हस्ताक्षर लगायत अन्य धेरै विवरण समावेश हुन्छ । यस्तो कार्डमार्फत रकम निकाल्दा मेसिनले ग्राहकको धेरै विवरण प्रमाणीकरण गर्ने भएकाले सामान्य कार्डभन्दा बढी सुरक्षित मानिन्छ । चिपमा भएको ग्राहकको विवरण नक्कल (कपी) गर्न सकिदैन ।
चिप नभएको अर्थात् म्याग्नेटिक कार्डमा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ । यसकारण चिप भएको एटीएम कार्ड बढी सुरक्षित मानिन्छ । हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले चिपमा आधारित कार्ड बनाइसकेका छन् ।
तर, कार्डमा प्रयोग गरिएका चिप पढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति नगर्दा कार्डमा रहेको ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ । यही कमजोरीको फाइदा उठाउँदै ह्याकरहरुले एटीएमबाट पैसा चोरी रहेका छन् । चिप कार्डबाटको कारोबारलाई अन्तराष्ट्रिय स्तरमै सुरक्षित मानिन्छ ।
प्रतिक्रिया दिनुहोस