
काठमाडौं । ऋण उठाउनका लागि एनआईसी एसिया बैंकले अनौठा हर्कत गर्दै आएको छ । तरपनि ऋण उठाउन भने सकेको छैन । सो बैंक कहिले ऋणीको घरमा गार्ड नै लगेर राखिदिन्छ त कहिले कम्पनी रजिष्ट्रारमा ऋण नतिर्नेका सबै बाटा थुनिदिनु पर्यो भन्दै पत्र बोकेर पुग्छ । त्यत्ति मात्रै होइन यो बैंकले ऋणीको घरमा ऋण उठाउन ‘गुण्डा’ समेत पठाउने गरेको धेरैको गुनासो छ ।
यस्ता कुनै पनि उटपट्याङ र उपायले काम नगरेपछि एनआइसी एसिया बैंक अन्ततः ऋण असुली न्यायाधिकरण पुगेको छ । जसको प्रमाण हो त्यहाँ थुप्रिएको यो बैंकले हालेको मुद्दाको चाङ । न्यायाधिकरणमा यो बैंकले हालेका मुद्दाका चाङ सबैभन्दा अग्लो छ ।
चालु आर्थिक वर्षको नौ महिना अर्थात् चैत २८ गतेसम्म ऋण उठाउन नसकेको भन्दै न्यायाधिकरणमा सो बैंकका ६७ वटा मुद्दा परेका छन् । बैंकले गत साउन महिनादेखि चैत २८ गतेसम्म ५१ करोड ८ लाख ८६ हजार ९७८ रुपैयाँ असुलीको लागी गुहार माग्दै यो संख्यामा मुद्दा दायर गरेको हो ।
पछिल्लो समय सबैजसो बैंक तथा वित्तीय संस्थाहरूलाई ऋण उठाउन सकस परेको छ । लगानी गरेको ऋण उठाउन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरू ऋण असुली न्यायाधिकरण गुहार्न पुगेका हुन् ।
चालु आवको चैत २८ गतेसम्म मात्रै न्यायाधिकरणमा विभिन्न बैंक तथा वित्तीय संस्थाका जम्मा १९९ वटा मुद्दा परेका छन् । यस अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३ अर्ब १८ करोड ७४ लाख १७ हजार रुपैयाँ भन्दा बढीको मागवादी सहित मुद्दा दायर भएको हो ।
अन्य बैंककाे कति परे मुद्दा ?
यस अवधिमा ऋण उठाउन नसकेको भन्दै ऋण असुली न्यायाधिकरणमा १८ वटा वाणिज्य बैंक र तीन वटा विकास बैंकले मुद्दा दर्ता गराएका छन् । जसमा वाणिज्य बैंक तर्फ मागे बैंकका (हाल नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग मर्ज भई एकीकृत कारोबार सुरु भएको) का सात वटा मुद्दा परेका छन् । सो बैंकले २७ करोड ६० लाख १२ हजार ७४७ रुपैयाँ मागवादी सहित मुद्दा दायर गरेको हो ।
त्यस्तै, एनएमबी बैंकले यस अवधिमा ऋण उठाउन नसकेपछि ६ करोड २१ लख ४९ हजार रुपैयाँ मागवादी सहित २० वटा मुद्दा दायर गरेको छ । ऋण असुली न्यायाधिकरणमा प्राइम कमर्शियल बैंकले १ करोड १७ लाख ८२ हजार रुपैयाँको मागवादी सहित २ वटा र ग्लोबल आईएमई बैंकले १८ करोड ४१ लख ५२ हजार रुपैयाँ मागवादी गर्दै २३ वटा मुद्दा दायर गरेको छ ।
न्यायाधिकरणका अनुसार चैत २८ गतेसम्म प्रभु बैंकले १२ करोड ३४ लाख ६ हजार रुपैयाँ मागवादी सहित २ वटा, माछापुच्छ्रे बैंकले ८७ लाख १० हजार रुपैयाँ मागवादी सहित ४ वटा, सिद्धार्थ बैंकले २ करोड ३ लाख ३ हजार रुपैयाँ मागवादी गर्दै ८ वटा र बैंक अफ काठमाण्डु (हाल ग्लोबल आईएमईसँग मर्ज भई एकीकृत कारोबार सुरु भएको) बैंकले ४ करोड १९ लाख ६२ हजार रुपैयाँ माग दाबी गरी ५ वटा मुद्दा दायर गरेको छ ।
त्यस्तै, यस अवधिमा नेपाल इन्भेस्टमेन्ट बैंक (हाल मागे बैङ्कसँग मर्ज भई एकीकृत कारोबार सुरु भएको) ले एक करोड ६५ लाख ४९ हजार रुपैयाँ मागवादी सहित २ वटा, नबिल बैंकले १३ करोड २२ लाख ७० हजार रुपैयाँ मागवादी गर्दै ६ वटा, सनराइज बैंकले १२ लाख ७७ हजार रुपैयाँको मागवादीसहित एउटा र हिमालयन बैंकले ३० लाख २९ हजार रुपैयाँ मागवादी गर्दै एउटा मुद्दा दायर गरेका हुन् ।
त्यसैगरी, ऋण उठाउन नसकेपछि चालु आवको यस अवधिमा सिटिजन्स इन्टरनेशनल बैंकले ३ करोड ४१ लख १६ हजार रुपैयाँको मागवादी गर्दै ३ वटा, लक्ष्मी बैंकले २ करोड २५ लाख ४६ हजार रुपैयाँको मागवादी गर्दै ४ वटा, सानिमा बैंकले ४९ लाख १६ हजार रुपैयाँको मागवादी गर्दै २ वटा, राष्ट्रिय वाणिज्य बैंकले ३३ लाख ७७ हजार रुपैयाँको मागवादी सहित २ वटा र नेपाल एसबीआई बैकले २२ लाख ८० हजार रुपैयाँको मागवादी गर्दै एउटा मुद्दा दायर गरेको न्यायाधिकरण जनाएको छ ।
विकास बैंकका १७ मुद्दा
ऋण असुली न्यायाधिकरणमा वाणिज्य बैंकहरुको मात्र नभई विकास बैंकहरुका पनि मुद्दा परेका छन् । यस अवधिमा तीन वटा विकास बैंकले १७ वटा मुद्दा दर्ता गराएका हुन् । कामना सेवा विकास बैंकले यस अवधिमा १२ करोड ७१ लाख ३५ हजार रुपैयाँको मागवादी गर्दै १५ वटा मुद्दा दायर गरेको छ ।
त्यस्तै, चालु आवको चैत २८ गतेसम्म महालक्ष्मी विकास बैंकले ५० लाख २३ हजार रुपैयाँ बराबरको मागवादी सहित एउटा र ज्योति विकास बैंकले ४५ लाख १४ हजार रुपैयाँ बराबरको मागवादी सहित एउटा मुद्दा दायर गरेको हो ।
पाँच बैंकको मुद्दामा निर्णय
ऋण असुली न्यायाधिकरणले चालु आवको चैत २८ गतेसम्म परेका मुद्दामध्ये पाँच वटा वाणिज्य बैंकहरुको १२ वटा मुद्दामा निर्णय गरेको छ । न्यायाधीकणले एनआईसी एसिया बैंकको ६९ लाख १३ हजार रुपैयाँ बराबरको दुई वटा मुद्दाको निर्णय गरेको छ ।
त्यस्तै, मुद्दा हालेको एनएमबी बैंकको १ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको चार वटा, ग्लोबल आईएमई बैंकको २ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको चार वटा, माछापुच्छ्रे बैंकको १७ लाख ३ हजार रुपैयाँ बराबरको एउटा र सिद्धार्थ बैंकको २२ लाख ५२ हजार रुपैयाँ बराबरको एउटा मुद्दाको निर्णय भएको न्यायाधिकरण जनाएको छ ।
न्यायाधिकरणको प्रगति
ऋण असुली न्यायाधिकरणमा हालसम्म ऋण उठाउन भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाको ३२० वटा मुद्दा परेका छन् । जसमध्ये फागुन महिनासम्म २२ वटा मुद्दाको निर्णय भएको छ भने २९८ वटा मुद्दा निर्णय हुन बाँकी रहेका छन् ।
हालसम्म न्यायाधिकरण ३४ अर्ब १० करोड ८८ लाख ६० हजार रुपैयाँ बराबरको ऋण असुली गरेको छ । यो वर्ष मात्रै न्यायाधिकरण ६८ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको ऋण असुली गरेको छ ।
पीडित ऋणीको दर्दनाक कथा
प्रतिक्रिया दिनुहोस