aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । नबिल बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, नेपाल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायत २१ वटै वाणिज्य बैंकहरुको वित्तिय विवरण सार्वजनिक भएको हो ।      

हेरौँ, कुनको कस्तो छ अवस्था ?   

नबिल बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ  । यस बैंकले गत वर्षको सोहि अवधिको तुलनामा ५२.६३ प्रतिशत नाफा बढाएको हो । 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत रहेको छ भने कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढाएको छ । 

बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको छ । सो बापत बैंकको इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ । यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ । 

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.२७ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा १३.१० प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपैयाँ २९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ । 

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा नाफा १७ प्रतिशतले बढाएको हो । सो अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो ।

यस अवधिमा बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७ अर्ब ४३ कराड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले ४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ खर्ब ७६ अर्ब निक्षेप संकलन गरेको थियो भने २ खर्ब ५८ अर्ब कर्जा लगानी गरेको थियो ।

बैंकको हाल ३.९६ प्रतिशत खराब कर्जा पुगेको छ भने ८७.१७ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमाम बैंकको खराब कर्जा १.४५ प्रतिशत थियो भने सीडी रेसियो ९३.०७ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ ।

एनएमबि बैंक
एनएमबि बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ कमाएको छ । चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो । गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६६ करोड नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको छ । बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख छ।

बैंकको प्रतिशेयर आम्दानी १२ पैसा बढेर १९ रुपैयाँ ४७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा रहेको रहेको बैंकको रिपोर्टमा उल्लेख छ । अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले आफ्ना नाफामा ६२.६३ प्रतिशत वृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो नाफा वृद्धि गरेको हो ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत, कुल सञ्चालन आम्दानी ३९.२१ प्रतिशत, सञ्चालन मुनाफा ६२.५९ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ। गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा १३ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ । 

कुमारी बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुमारी बैंकले १ अर्ब ८२ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ ।  गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको थियो । 

बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशत, कुल सञ्चालन आम्दानी ६७.८८ प्रतिशत वृद्धि भएको छ । निष्क्रिय कर्जा ०.९६ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। 

बैंकको सञ्चालन मुनाफा २७.८२ प्रतिशत घट्न पुगेको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २४ लाख ८६ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ९ रुपियाँ २५ पैसामा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.०२ गुणा र प्रतिशेयर नेटवर्थ १४० रुपियाँ २९ पैसा छ । 

नेपाल बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल बैंकको खुद नाफा १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस बैंकले २ अर्ब १९ करोड कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी ३७.२० प्रतिशत, कुल सञ्चालन आम्दानी २७.३२ प्रतिशतले बढेको छ । निष्क्रिय कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत भएको छ । यसका कारण इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ४८ करोड पुगेको छ । बैंकको वितरण योग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १३ पैसा घटेर १६ रुपैयाँ १३ पैसा भएको छ। गत आर्थिक वर्षको मुनाफाबाट २ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १४ अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २० अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ ।

सिद्धार्थ बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिद्धार्थ बैंक वितरण योग्य मुनाफा ४५ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकले चैत्र मसान्तको वित्तीय विवरण सार्वजनिक गर्दै निष्क्रिय कर्जा १.१२ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेपछि बैंकको इम्पेरमेन्ट चार्ज ४२ करोड रुपैयाँबाट बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घटेको छ ।

यस अवधिमा बैंकले १ अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.६५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ १० पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २८ पैसा रहेको छ ।

प्राइम कमर्सियल बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ९.३५ प्रतिशत कम हो ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशत, कुल सञ्चालन आम्दानी ११.६८ प्रतिशत, निष्क्रिय कर्जा ०.९४ प्रतिशतबाट ३.०६ प्रतिशत वृद्धि भएको छ । उक्त खराब कर्जामा भएको वृद्धिका कारण बैंकको इम्पेरमेन्ट चार्ज बढेर ९९ करोड पुगेको छ । 

नाफासँगै बैंकको प्रतिशेयर २ रुपैयाँ ४९ पैसा घटेर १६ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १९ अर्ब ४० करोड पुर्याएको छ । बैंकको जगेडा कोषमा ९ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ।

नेपाल एसबीआई बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल एसबीआई बैंकको खुद नाफा ३८.७१ प्रतिशतले बढेर १ अर्ब ८० करोड ३२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ३० करोड २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैकको खुद ब्याज आम्दानी ४४.७७ प्रतिशतले बढेर ४ अर्ब १३ करोड २१ लाख ६७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३८.४५ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६३ पैसाले बढेर २३ रुपैयाँ ७६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४७ पैसा पुगेको छ । 

सनराइज बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सनराइज बैंकको खुद नाफा ८.३३ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकले १ अर्ब २७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस बैंकको वितरणयोग्य नाफा ४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १४ करोड १७ लाख रुपैयाँ थियो । यो त्रैमासम्म बैंकको खुद ब्याज आम्दानी ३७.५२ प्रतिशतले बढ्दा सञ्चालन नाफा ७.४८ प्रतिशतले घटेको छ । 

हाल यसको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसाले घटेर १५ रुपैयाँ ४३ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ १४ पैसा रहेको छ ।

हिमालयन बैंक
सिभिल बैंकलाई गाभेको गरेको हिमालयन बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आइपुग्दा २४.९६ प्रतिशतले बढी हो ।   

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९३.१३ प्रतिशत र २६.४३ प्रतिशतले बढेको छ । चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी रहेको छ भने रिजर्भ कोष १०८.२५ प्रतिशतले बढेर १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ भने इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । यसले पनि नाफा बढ्न टेवा दिएको हो । खुद ब्याज आम्दानी ९९.४९ प्रतिशत र सञ्चालन नाफा ५५.८६ प्रतिशतले बढेको छ । वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ ।  

मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसाले घटेर १५ रुपैयाँ २ पैसामा आएको छ । इम्पेयरमेन्ट चार्ज ७० करोड १९ लाख रुपैयाँ रिभर्स भएको छ । 

प्रभु बैंक
प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमाको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो ।

बैंकले तेस्रो त्रैमासमा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, यो अवधिमा बैंकको खराब कर्जा ३.५ प्रतिशत रहेको छ भने ८५ प्रतिशत सीडी रेसियो कायम भएको छ ।

प्रभु बैंकले गत पुसमा सेञ्चुरी बैंकलाई गाभेको थियो । एकीकृत कारोबार नहुँदै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ७५ करोड नाफा, १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । सो अवधिमा प्रभु बैंकको एनपीएल १.२१ प्रतिशत र सीडी रेसियो ८२.११ प्रतिशत थियो ।

यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा सेञ्चुरी बैंकमा १ अर्ब १ करोड खुद नाफा गरेको छ भने ९० अर्ब ५२ करोड रुपैयाँ निक्षेप, ८७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, सेञ्चुरी बैंकको खराब कर्जा १.६० प्रतिशत र सीडी रेसियो ९३.५७ प्रतिशत थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको नाफा ६१.११ प्रतिशतले बढेको छ ।

बैंकले यो अवधिमा ४ अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यस्तै, गत आवको सोही अवधिमा बैंकले ९३ अर्ब ७२ करोड निक्षेप संकलन गरेको थियो भने ७९ अर्ब १९ करोड कर्जा लगानी गरको थियो । यस अवधिमा बैंकको खराब कर्जा ०.९० प्रतिशत कायम भएको छ भने ८०.०८ प्रतिशत सीडी रेसियो छ ।

गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.३६ प्रतिशत थियो भने ८२.६९ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९२ करोड रुपैयाँ छ । बैंकको लाभांश वितरणको क्षमता ३४.०२ प्रतिशत छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ८९लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको सोही तुलनामा यस त्रैमासमा नाफा बढाएको हो ।

बैंकले यो अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले निक्षेपकर्ताबाट १ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । 

यो अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८५.३६ प्रतिशत कायम भएको छ । यस्तै, बैंकको गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा १.०८ प्रतिशत थियो भने सीडी रेसियो ८७.२४ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने लाभांश वितरण गर्ने क्षमता ११.९५ प्रतिशत रहेको छ ।

सिटिजन्स बैंक
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको छ गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

यो अवधिमा बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकको निक्षेप संकलन ८ अर्ब बढेर १ खर्ब ६० अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३९ अर्ब पुगेको छ ।

बैंकले गत आवको सोही अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.९८ प्रतिशत छ भने सीडी रेसियो ८६.५६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सोही अवधिमा खराब कर्जा १.७२ प्रतिशत र सीडी रेसियो ९०.६९ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा १४ करोड ३४ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ११.६१ रुपैयाँ छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो । गत आवको सोही त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले घटेको छ ।

यस्तै, बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संक्लन गरेको छ भने १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा स्थीर छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो ।

बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ । यस्तै, गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो ।

कृषि विकास बैंक

कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा ऋणात्मक रहेको बैंक तेस्रो त्रैमासमा भने नाफालाई धनात्मक गर्न सफल भएको हो । बैंकले भोलि (बिहीबार ७ गते) तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दैछ ।

बैंक स्रोतका अनुसार ९ महिनाको अवधिमा २ अर्ब बढी नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको निक्षेप १३ प्रतिशत वृद्धि भएको छ । चैत मान्तसम्म बैंकको निक्षेप १ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब ६० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकको कर्जा २ प्रतिशत बढेको छ । चैत मसान्तसम्म बैंकले १ खर्ब ८० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८५ प्रतिशत रहेको छ । 

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब रुपैयाँ नाफा गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकको कूल निक्षेपमा समेत वृद्धि भएर ३ खर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशत बढेर २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंक स्रोतले जनाएको छ । गत आर्तिक वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप थियो ।

बैंकले गत वर्षको तुलनामा १६.८२ प्रतिशतले कर्जा वृद्धि गरेको छ । गत वर्ष २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको खराब कर्जा २.५ प्रतिशतको हाराहारीमा रहेको छ ।

सानिमा बैंक
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सो नाफा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा नाफा ७ प्रतिशतले बढाएको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड नाफा गरेको थियो । बैंकले यो अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४४ अर्ब रुपैयाँकर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ५७ अर्ब निक्षेप र १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको वितरणयोग्य नाफा ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस