aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

खराब कर्जाले अत्याउँदै छ बैंकहरुलाई, देखियो १३५ प्रतिशतको वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
खराब कर्जाले अत्याउँदै छ बैंकहरुलाई, देखियो १३५ प्रतिशतको वृद्धि

काठमाडौं । खराब कर्जा लगातार बढेका कारण बैंकहरु चिन्तित छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसक्दा त्यो चिन्ता अझ बढेको छ । गत आवको भन्दा औसतमा १३५ प्रतिशतको हाराहारीले वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दा कतै यस्तै कर्जाका कारण हाम्रो बैंकिङ क्षेत्र संकटमा त पर्ने होइन भन्ने आशंका समेत बढेको छ । 

तर, त्यसो त समग्र रुपमा नेपालका बैंकहरु अहिलेसम्म पनि बलियो अवस्थामा रहेको मानिन्छ । जसले गर्दा केही खराब कर्जा बढ्नु र मुनाफामा गिरावट आउनु जस्ता कुराहरुले आत्तिइहाल्नु पर्ने अवस्था भने छैन । तथापी उच्च गतिमा वृद्धि भएको खराब कर्जाबारे गम्भिर नबन्ने हो भने निकट भविष्यमा नै हामीले अकल्पनिय समस्याको समाधान गर्नुपर्ने हुन सक्छ । 

बैशाखको पहिलो साता पुरा नहुँदै हाल सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विविरण सार्वजनिक गरेका बैंकहरुमा १४ बैंकको नाफा बढेको छ भने ७ वटा बैंकको नाफा घटेको छ । वित्तीय विवरण अनुसार सर्वाधिक कमाउनेमा नबिल बैंक रहेको छ ।

बैंकहरुको नाफामा कमी आउनुमा उनीहरूमा रहेको खराब कर्जा पनि जिम्मेवार रहेको देखिन्छ । चालु आवको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा १३५.८३ प्रतिशतले बढेको छ । बैंकहरुको खराब कर्जा बढेका कारण नाफामा असर गरेको हो ।

वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा नबिल, एनआईसी एसिया, एनएमबि, नेपाल बैंक, प्रभु सिटिजन्स, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, सानिमा, लक्ष्मी, प्राइम, सनराइज, नेपाल एसबीआई, हिमालयन, कुमारी, कृषि विकास, सिद्धार्थ, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । 

सर्वाधिक खराब कर्जा बढेका दुई बैंक

वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये दुई बैंकहरुको खराब कर्जा धेरै बढेको वित्तीय विवरणले देखाएको छ । यस अवधिमा सबैभन्दा बढी हिमालयन बैंक र कुमारी बैंकको खरब कर्जा ३ प्रतिशत भन्दाबढिले बढेको हो । 

गत आवको तेस्रो त्रैमाससम्म हिमालयन बैैंकको खराब कर्जा ०.९९ प्रतिशत रहेको थियो । खराब कर्जा रहेको चालु आवको चैत मसान्तसम्म आईपुग्दा ३.५७ प्रतिशतले बढेर ४.५६ प्रतिशत पुगेको छ । सिभिल बैंकलाई गाभेपछि बैंकको खराब कर्जामा वृद्धि भएको हो । 

त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्शं बैंक (एनसीसी) सँग मर्जमा गएको कुमारी बैंकको खारब कर्जा चालु आवको तेस्रोत त्रैमाससम्म आइपुग्दा ३.०१ प्रतिशतले बढेर ३.९७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.९६ प्रतिशत रहेको थियो । 

अन्य बैंकको कति बढ्यो खराब कर्जा

विीत्तय विवरण सार्वजनिक गरेका बैंकहरुमा अधिकांश बैंकको खराब कर्जा बढेको छ । जसमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको खराब कर्जा १.१२ प्रतिशत रहेको थियो । उक्त कर्जा चालु आवको चैत मसान्तसम्म आइपुग्दा २.८३ प्रतिशतले बढेर ३.९५ प्रतिशत पुगेको छ । 

सार्वजनिक भएको वित्तीय विवरण अनुसार यस अवधिमा सानिमा बैंकको खराब कर्जा बढेर २.२७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिसम्म बैंकको खराब कर्जा ०.३८ प्रतिशत रहेको थियो । त्यसै गरी, कृषि विकास बैंकको पनि खराब कर्जामा वृद्धि भएको छ । गत आवको सोही अवधिमा २.३२ प्रतिशत रहेको सो बैंकको खराब कर्जा चालु आवको तेस्रो त्रैमाससम्म ३.३५ प्रतिशत पुगेको छ । 

यसबिच सिटिजन इन्टरनेशनल बैंकको खराब कर्जा पनि बढेको देखिएको छ । गत आवको सोही अवधिमा १.७२ प्रतिशत रहेको सो बैंकको खराब कर्जा चालु आवको तेस्रो त्रैमाससम्म ३.९८ प्रतिशत पुगेको छ । 

उक्त वित्तीय विवरण अनुसार यस अवधिमा ग्लोबल बैंकको खराब कर्जा पनि बढेको  छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा १.२३ प्रतिशत रहेको थियो । चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा उक्त बैंकको खराब कर्जा बढेर ३.९६ प्रतिशत पुगेको छ । 

यस्तो अन्य बैंकको खराब कर्जाको अवस्था 


 

प्रतिक्रिया दिनुहोस