aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारीमार्फत महिलालाई आर्थिक सामाजिक रुपमा समक्ष बनाउन जुटौ: उपाध्यक्ष पुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
सहकारीमार्फत महिलालाई आर्थिक सामाजिक रुपमा समक्ष बनाउन जुटौ: उपाध्यक्ष पुन

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी पुनले महिलालाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा सक्षम बनाउनका लागि सहकारी उपयुक्त र प्रभावकारी माध्यम हुन सक्ने बताएकी छिन् ।

सामाजिक विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिकासंगको सहकार्य तथा मिलन म्याग्दीको व्यवस्थापनमा सञ्चालन गरेको २ दिने महिला सहकारीहरुको संस्थागत विकास तथा अभिमुखीकरण कार्यक्रम समापनका अवसरमा यस्तो बताएकी हुन् ।

महिलाहरुलाई संगठित गरी क्षमता विकाससंगै आयआर्जन गर्न, वचत गर्न तथा सामाजिक रुपमा सक्षम बनाउनका लागि सहकारी सबै भन्दा प्रभावकारी र भरपर्दो माध्यम हो, उपाध्यक्ष पुनले भनिन्, ‘विशेष गरी ग्रामिण क्षेत्रका महिलाहरुलाई सहकारीले संस्थागत रुपमा अगाडि बढ्न सहयोग गर्नुका साथै उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

गाउँपालिका भित्र रहेका सहकारीहरुको संस्थागत विकास र सहकारीका सदस्यहरुलाई सहकारीमार्फत आयआर्जन वृद्धि गर्न, वचत गर्न तथा क्षमता विकासका लागि पालिकाले समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता उपाध्यक्ष पुनले बताइन् । 

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का अध्यक्ष रमेश पुर्जाले सहकारी समाज रुपान्तरणको महत्वपूर्ण माध्यम हो, तर सहकारी सञ्चालनका विधि तथा प्रक्रियाहरु नजानेर वा जानेर पनि वेवास्ता गरेका कारण सहकारी क्षेत्रमा समस्या सिर्जना भएको भन्दै सहकारीको संस्थागत विकासमा ध्यान दिन सुझाव दिएका थिए ।

तालिमका सहजकर्ता राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमार्फत सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि सञ्चालक र व्यवस्थापनले सदस्यहरुको क्षमता विकाससंगै आयआर्जन वृद्धि गर्ने खालका कार्यक्रम बनाएर काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रम सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाको अध्यक्षता र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख थापाले महिलाका लागि कानुनी रुपमा धेरै सकारात्मक विषय उल्लेख भए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको चर्चा गर्दै सहकारीहरुले आफ्ना सदस्यहरुलाई आर्थिक सामाजिक विषयसंगै कानुनी साक्षरतामा समेत ध्यान दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकामा सञ्चालित महिला सहकारीहरु सिर्जना महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाना, निलगिरी महिला विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारच्याङ, न्यू कान्छी बराही महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड शिख र सयपत्री महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड सिखका सञ्चालक र कर्मचारी गरी ३० जनाको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस