aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ बैशाख २०८०
बैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन हुने

काठमाडौं । यही बैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् ।

‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौंमा आयोजना गर्न लागिएको हो । आज आयोजित पत्रकार भेटघाटमा उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रका समस्या तथा त्यसको समाधानका उपायहरुमाथि विचार विमर्श हुने जनाइएको छ ।  

“हाल उद्योगी तथा व्यवसायीहरुको  मनोबल निकै घटेको, विभिन्न कारणले मागमा सङ्कुचन आई उत्पादनमा असर परेको जस्ता समस्या समाधानका विषयमा सरोकारवाला व्यक्तिहरुको प्रस्तुति रहनेछ”, सिबिफिनका अध्यक्ष पवन गोल्यानले भने । 

त्यस्तै चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको, पूँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको जस्ता कारणले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको लगायत विषयमा पनि सम्मेलनमा छलफल हुने जनाइएको छ ।

आर्थिक एवम् बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशा तय गर्न सम्मेलनबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाइने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस