
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ५० हजार ६३६ कित्ता संस्थापक शेयर वैशाख १९ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १२० अंकित मूल्यमा विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी वैशाख २८ गतेसम्म बैंकको शेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु सक्नेछन् । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिई यस अघि यो शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको थियो ।
विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थामा समेत यो शेयर विक्री गर्न लागिएको हो ।बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर खरीद गर्ने लगानीकर्ताले बैंकद्वारा वैशाख १९ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस