
काठमाडौं । सानो दरका नोटले केही पनि नआउने अवस्था भएपछि ५० र १०० रुपैयाँ दरको नोटको माग बढेको छ । गत वर्षको दशैंमा पनि ५० र १०० दरका नोटको माग अत्याधिक भएको थियो । तर, राष्ट्र बैंकलाई ती दरका नोट व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो । दशैंको टीका लगाइ दिएर साना बालबालिकदेखि नै ५० र १०० दरका नोट दिन थालिएपछि ती दरका नोटको माग बढेको हो ।
उपभोग्य वस्तुको मूल्य वृद्धिसँगै साना दरका नोट प्रचलन कम हुन थालेको छ । १०,२० रुपैयाँले सानोतिनो खेलौना, चाउचाउसम्म पनि नआउने भएपछि बिस्तारै ती दरका नोटमा कमी आउन थालेका हुन् । प्रत्येक वर्ष वस्तुको मूल्य बढेको बढ्यै छ । त्यस्ता वस्तु खरिद गर्न बढी रकम चाहिने भएको छ । ठूलो झोलामा पैसा लगेर सानो झोलामा समान ल्याउने अवस्था आउन थालेको छ ।
दैनिक उपभोग्य वस्तु, तरकारी, दाल, चामल, पिठोलगायतका बस्तुको भाउ पनि त्यसैगरी बढेको छ । लत्ता कपडा, भौतिक निर्माणका सामग्री बढेको बढ्यै छन् । बस्तुको मूल्य बढेसँगै साना दरका नोट बिस्थापित हुन थालेका हुन् ।
राष्ट्र बैंकले १ र २ रुपैयाँका कागजी नोट पनि छाप्न छाडेको छ । ती दरका सिक्का पनि कम छाप्न थालिसकेको छ । त्यस्तै राष्ट्र बैंकले ५ र १० रुपैयाँ दरका नोट पनि क्रमशः कम छाप्न थालिएको छ । अहिले राष्ट्र बैंकले अहिले ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट छापिरहेको छ ।
राष्ट्र बैंकले पनि ५० र १०० दरका नोटको माग बढेसँगै व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छ । आगामी दशैंका लागि नयाँ नोट साट्नका व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल शुरु गरेको छ । ’ नयाँ नोट वितरणको व्यवस्थापन मिलाउन त समस्या छ नै,’ राष्ट्र बैंकका एक अधिकारीले भने–‘त्यसमा पनि माग बढी हुने ५० र १०० दरका नोट कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।’
राष्ट्र बैंकले ५, १०, २०, ५० र एक सय दरका नयाँ नोटको सटही खुल्ला गर्न लागेको हो । एकजना व्यक्तिलाई २७ हजारका दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले गत वर्ष जस्तै विभिन्न २१ स्थानबाट नयाँ नोट सटहीको व्यवस्था मिलाउँदै छ । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर जिल्लामा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गर्न लागेको हो ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गरिने तयारी भइरहेको छ। राष्ट्र बैंकले बाणिज्य बैंकहरुले असोजको दोस्रो साताबाट नयाँ नोट उपलब्ध गराउने तयारीमा जुटेको छ । राष्ट्र बैंकले दशैं लक्षित गरी ६३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा ल्याउन लागेको छ ।
प्रतिक्रिया दिनुहोस