aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पुँजीबजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६३.८ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०
पुँजीबजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६३.८ प्रतिशत

काठमाडौं । धितोपत्र बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६३.८ प्रतिशत रहेको पाइएको छ  । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

उक्त विवरण अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.८ प्रतिशत रहेको पाइएको हो । 

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

चालु आवको नौ महिना अर्थात चैत मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २४८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४१ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । त्यस्तै ६९ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो ।

गत आवको चैत मसान्तमा २४१५.२५ रहेको नेप्सेसूचकाङ्क चालु आवको चैत मसान्त आइपुग्दा १९३४.४८ विन्दुमा कायम भएको छ । २०७९ चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब १३ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । गत आवको चैत मसान्तमा बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । 

नेप्सेमा चैत मसान्तमा सूचीकृत ७ अर्ब १९ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब ९ अर्ब २७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा १ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ बराबरको साधारण शेयर सूचीकृत भएका छन् । 

त्यस्तै यस अवधिमा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको बोनस शेयर, ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ४ अर्ब ११ करोड बराबरको हकप्रद शेयरगरी कुल २ खर्ब ७१ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ । ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर,१२ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ६ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण शेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ३० अर्ब ३५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस