
काठमाडौं । तत्काल कर्जाको ब्याजदर घटने सम्भावना न्युन रहेको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत बैंक दरलाई १ प्रतिशत विन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ । यसबाट सैद्धान्तिक रुपमा ब्याजदर घटने अपेक्षा गरिन्छ । तर नेपाल बैंकर्स संघले आगामी महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरिसकेको हुदा तत्काल कर्जाको ब्याजदर घटने सम्भावना न्युन देखिएको महासंघले जनाएको छ ।
हालको आर्थिक अवस्था मुलतः खराब कर्जाको जोखिम, बढदै गएको मुद्रास्फिति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरेपनि ठोस र पर्याप्त उपाय अवलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्युन रहेको हो । आर्थिक गतिविधिहरु शिथिल हुंदा उद्यमी व्यवसायीहरुमा कर्जाको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुंदै गएको सन्दर्भमा आंशिक रुपमा ऋणको पुर्नतालिकीकरण र पुर्नसंरचनाको सुविधा दिइएको छ ।
होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसंग सम्बन्धित कर्जा र पांच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । यसमा उत्पादनमूलक क्षेत्र भने छुटेको भन्दै महासंघले गुनासो गरेको छ ।
बैंक तथा वित्तिय संस्थाबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा निक्षेप अनुपात गणना गर्ने प्रयोजनाका लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पौष मसान्तसम्मका लागि निरन्तरता दिएको प्रति महासंघले स्वागत गरेको छ । यो व्यवस्थाबाट बैंकहरुलाई कर्जा प्रवाह गर्न प्रेरित महासंघको बुझाइ रहेको छ । यसबाट बैंकहरुलाई लगानीमा केहि राहत दिएपनि दीर्घकालीन समाधान भने दिन नसक्ने महासंघको भनाइ रहेको छ ।
त्रैमासिक समीक्षामार्फत राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गर्ने तथ्यांकका आधारमा पछिल्ला दुुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रसंग सम्बद्ध ऋणिहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सिमाभित्र रही पुनरकर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाएको छ ।
यो व्यवस्था अनुसार, उद्योग, निर्माण र व्यापार क्षेत्रसंग सम्बन्धित व्यवसायले यो सुविधा पाउने छन् । तर व्यापार क्षेत्रलाई नकारात्मक सूचीमा राख्न सक्ने सम्भावना पनि रहेको हुदा मर्का परेका सबैलाई सुविधा दिइनुपर्ने माग महासंघको छ । ऋणात्मक भएका मात्र नभई अन्य न्युन वृद्धि भएका क्षेत्रहरु पनि समस्यामा रहेको हुदा उक्त सुविधा उपलब्ध गराउनुपर्ने माग महासंघले गरेको छ । पुर्नकर्जा सुविधाले करिब ५० अर्व रुपैया बजारमा प्रवाह हुने अपेक्षा गरिएको छ । तर गत बर्षजस्तै एकैपटक पुर्नकर्जा रकम फेरि पनि तानिने आशंकाका बीच यसले नतिजा दिन सक्नेमा महासंघको आशंका छ ।
अल्पकालीन तथा चालु पुंजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा तीन महिनासम्मका लागि असार मसान्त भित्र म्याद थप गर्न सकिने सुविधा दिइएको छ । यसका लागि बैंकले कुनै हर्जाना वा शुल्क लिन नपाउने कुरा आएको छ ।
चालुपूंजी कर्जा मार्ग दर्शन २०७९ को केही व्यवस्था संशोधन भएपनि वार्षिक रुपमा सात दिनसम्म शुन्य बक्यौता कायम गर्ने लगायतका व्यवस्था पुनरावलोकन गर्न महासंघले आग्रह गरेको छ । यसैगरि चालू पूँजी कर्जाको सीमा २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक भएको हुँदा हटाउनु पर्नेमा महासंघको जोड रहेको छ ।
त्यस्तै, लघुवित्तिय संस्थाका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्बन्धित संस्थाको आवश्यकता र औचित्यको आधारमा पुनर्संरचना र पुनर्तालिकीकरणका लागि सुविधा दिइएको छ । यसले साना ऋणीहरुलाई राहत मिल्ने महासंघको अपेक्षा रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षामा आन्तरिक रेमिट्यान्स खुला नगरेकोमा आफ्नो ध्यान केन्द्रित भएको जनाएको छ । यसबाट विद्यार्थी, निर्माण क्षेत्रमा कार्यरत श्रमिक, अनौपचारिक क्षेत्रमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, साना व्यवसायी लगायत सर्वसाधारणलाई रकम पठाउन कठिनाई भैरहेको समेत महासंघको गुनासो छ ।
शेयर कर्जा, व्यापारिक प्रयोजनका सवारी साधन तथा घर कर्जामा लाग्दै आएको जोखिम भारको १५० प्रतिशतलाई १०० प्रतिशतमा ल्याइनुु पर्ने सुझाव नसमेटिदा यो क्षेत्र थप संकुचित हुने चिन्ता व्यख्त गरेको छ । अन्य क्षेत्रमा भन्दा उत्पादनमुलक क्षेत्रमा दिइने कर्जाको व्याज दर कम हुने नीतिगत व्यवस्थाको यथाशीघ्र कार्यान्वयन हुनुुपर्ने भन्ने निजी क्षेत्रको सुुझाव तत्काल संवोधन हुन महासंघको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस