aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ब्याजदर घटाउन निर्देशन दिएका छौँ, आगामी दिनमा घट्दै जान्छः मिश्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आगामी दिनमा क्रमशः ब्याजदर घट्दै जाने बताएका छन् । नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपालःस्वदेशी समिट २०२३’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

कार्यक्रममा बोल्दै उनले भने, ‘केन्द्रीय बैंकले आधार दर घटेअनुसार ब्याजदर घटाउन निर्देशन दिएको छ । आगामी दिनमा क्रमशः ब्याजदर घट्दै जान्छ ।’ 

सरकारले लिएको नीति अनुसार नै आगामी मौद्रिक नीति ल्याउने समेत उनले बताए । साथै मिश्रले मौद्रिक नीतिका लागि सबैसँग सुझाव लिने र सोही अनुसार समेटिएर अगाडी बढ्ने समेत आश्वासन दिए । 

‘हामी बाध्य भएर केही कडाइ गर्नु परेको हो । जङ्गलमा आगो लाग्यो भने सबै अप्ठ्यारोमा पर्छौँ । सानै आगोलाई नै एक अर्कामा मिलेर निभाऔँ । सबै मिलेर अगाडी बढौँ’, उनले भने । 

अहिले सहज स्थिति आउनुमा राष्ट्र बैंकले नै लिएको नीतिको कारण रहेको उनले बताए । मिश्रले भने, ‘राष्ट्र बैंकले हस्तक्षेप नगरेको भए आधार दर १८ प्रतिशत पुग्ने थियो । आज हामी जुन स्थितिमा छौँ त्यो हामीले नै व्यवस्था गरेको हो । अहिले अवस्था सहज हुँदै गएको पनि राष्ट्र बैंकले लचिलो नीति लिएर हो ।’   

हाम्रोमा अहिले सर्भिस एक्सपर्ट भइरहेको छ । यसलाई रोक्न गर्न सकियो भने नेपालका युवाहरूले विदेशिने वातावरण कम हुने उनको तर्क छ । यसका साथै उनले विदेशी मुद्रा भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको बताए । 

 

प्रतिक्रिया दिनुहोस