aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सहकारीमा नियमित बचतलाई प्राथमिकता दिऔ: जिसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
सहकारीमा नियमित बचतलाई प्राथमिकता दिऔ: जिसी

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगोपनाका लागि नियमित वचतलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिबार कुश्मामा आयोजना गरेको एक दिने क्षमता अभिवृद्धि कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताएका हुन् । 

सदस्यहरुलाई आयआर्जन वृद्धि गर्ने तरिका सिकाउनुका साथै खर्च कटौती गरी दिर्घकालिन बचतमा सहभागी हुन प्रेरित गर्नुपर्नेमा जोड दिँदै जिसीले बचतलाई सदस्यहरुका बीचमा नियमित गर्न सक्दा मात्रै संस्थालाई दिगो बनाउन सकिने बताए ।

सदस्यहरुले सहकारीमा राख्ने एउटा बचतलाई स्थिर सम्पत्ति बचतका रुपमा सञ्चालन गर्न सकिने बारेमा चर्चा गर्दै उनले जग्गा जमिन जस्तै पैसालाई स्थिर सम्पत्ति बनाउन सकिने बताए । 

महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलादेवी खड्काले सदस्यहरुलाई स्थिर सम्पत्ति बचतका बारेमा सचेतना प्रदान गरी आगामी आर्थिक वर्षबाट अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

सहकारीमा सदस्यहरुको सक्रियताका लागि महिला हित सहकारीले नियमित सहकारी शिक्षा तथा सचेतना लगायत संस्थालाई दिगो बनाउन सहयोग पुग्ने अभियान सञ्चालन गर्दै आएको खड्काले बताइन् । उनले सहकारीले सदस्यबाट वचतका रुपमा संकलन गरेको रकमलाई सदस्यहरुमै लगानी गर्नु पर्नेमा जोड दिइन् ।

तालिममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उपसमिति र कर्मचारीहरुको काम कर्तव्य र अधिकारका साथै संस्थाको दिगोपनाका लागि बचत परिचालन लगायतका विषयमा बैंकका सञ्चालक जिसीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, उपसमितिका सदस्य र कर्मचारी सहित १८ जनाको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक हजार ३ सय जना शेयर सदस्य रहेको महिला हित बचत तथा ऋण सहकारी संस्थामा ३ करोड शेयर रकम, १० करोड वचत र १० करोड ऋण लगानी रहेको संस्थाका प्रवन्धक चन्द्रा कार्कीले जानकारी दिइन् ।
 

प्रतिक्रिया दिनुहोस