aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

बैंकिङ र शिक्षा क्षेत्रको सुधारबाट अर्थतन्त्र बलियो बनाउन सकिन्छ: सांसद दीपक गिरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ जेठ २०८०
बैंकिङ र शिक्षा क्षेत्रको सुधारबाट अर्थतन्त्र बलियो बनाउन सकिन्छ: सांसद दीपक गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले अहिलेको आर्थिक संकटबाट देशलाई बाहिर ल्याउन सरकारले बैंकिङ र शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने बताए । मंगलबार सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्दै सांसद गिरीले उक्त धारणा राखेका हुन् ।

देशको अर्थतन्त्र दिगो बनाउन शिक्षा क्षेत्रको सुधार र दक्ष जनशक्ति उत्पादन पहिलो शर्त रहेको बताउँदै गिरीले भने, ‘अहिले नेपालमा २६ हजार ४५४ सरकारी स्कुल र ६७६० निजी स्कुल संचालनमा छन् । सरकारी स्कुल विद्यार्थी नपाएर गाभ्ने दिन आएको छ । निजी स्कुलमा मासिक हजारौं/लाखौं रुपैयाँ तिरेर विद्यार्थी पठाउँदै आएका छन् । हाम्रा पब्लिक स्कुल सुधारमा ठोस योजना ल्याउनु पर्दैन ? मानव संसाधन विना देशको विकास कसरी सम्भव छ ?’  

पछिल्ला दुई दशकमा उद्योगको जीडीपीमा घटिरहेको हिस्सेदारीलाई कसैले उत्तर दिनु नपर्ने हो भन्दै उनले प्रश्न गरे । ‘किन घट्यो उद्योगको उत्पादन ? यस अवधिमा हामीले कति कानुन उद्योगमैत्री बनायौं । उद्योगको सम्भावना अध्ययन सरकारले गरेको छ वा छैन ?,’ उनले भने ।

‘बजारमा लगानी योग्य रकम छैन, त्यो रकम खोजेर सरकारले पठाउन ढिला भयो । तत्काल बैंकिङ च्यानलमा पैसा पठाऔं । त्यसको लागि सरकारले ठोस योजना बनाउनुपर्छ’, उनले अगाडी भने, ‘अहिलेको मुख्य समस्या धेरैले ब्याजदर भनिरहेका छन् । मलाई त्यस्तो लाग्दैन, ब्याजदर विगतमा पनि २० प्रतिशतसम्म पुगेको थियो, तर बजारमा शून्यता थिएन । अहिलेको सबैभन्दा ठूलो समस्या आमनागरिकले गुमाएको ‘कन्फिडेन्ट’ हो । पैसा कमाएर खर्च गर्दा फरक पर्दैन भन्ने कन्फिडेन्ट नागरिकमा फर्काउन सक्नु पर्छ ।’ 

प्रतिक्रिया दिनुहोस