
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले सूचना प्रविधिमा बैंकहरुले पर्याप्त लगानी नगर्ने हो भने बैंकले तीन वर्षमा कमाएको पैसा एक मिनेटमा नै स्वाह हुने चेतावनी दिएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युटले बैंकिङ क्षेत्रमा साइबर चुनौती सम्बन्धी एकदिने तालिम कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
बैंकहरुमा ठूला आक्रमण हुन सक्ने र भए भरको पैसा कुनै बेला पनि चोरी हुन सक्ने र त्यसले बैंकलाई ठूलो क्षति पुग्ने कुरामा सचेत हुन पनि गभर्नरले आग्रह गरे । बैंकहरुलाई सूचना प्रणालीको सुरक्षा र स्तर उन्नतिमा खुलेर खर्च गर्न दोहोर्याएर अनुरोध समेत गरे । गभर्नरले चेतावनीको शैलीमा भने–‘यदी बैंकहरुले यो क्षेत्रमा पर्याप्त खर्च गरेको देखिएन भने आगामी मौद्रिक नीतिमा साइबर सुरक्षाको लागि यति खर्च गर्नुस् भनेर निर्देशन दिन राष्ट्र बैंक बाध्य हुन्छ ।’
केही साता अघि नेपालका केही बैंकको एटीएमबाट भएको चोरीको घटनापछि नेपालको बैंकिङ क्षेत्र कति सुरक्षित छ भन्ने बहस चलिरहेको छ । यही सन्दर्भमा नेसनल बैंकिङ इन्स्टिच्युटले तालिम आयोजना गरेको हो । लगभग सबै बाणिज्य बैंकका आईटी प्रमुखलाई साईबर सुरक्षाबारे जानकारी दिन यस्तो कार्यक्रमको आयोजना गरिएको एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले बताए ।
चिनियाँ ह्याकरले केही समयभित्रै ठूलो मात्रामा रकम निकालेको थाहा पाएर प्रहरीले पक्राउ गरेपछि आम नेपालीले बैंकको सुरक्षा प्रणालीबारे प्रश्न गर्दै आएका छन् । केबल मुनाफामा मात्र ध्यान दिने तर आवश्यक क्षेत्रमा लगानी गर्न हिच्किचाउने नेपालका बैंकको प्रवृतिबारे गभर्नरले समेत आपत्ति जनाएका थिए । सर्वसाधारणले बैंकलाई लगानुने गरेको आरोप र टिप्पणीसंग गभर्नर समेत सहमत देखिएका हुन् ।
प्रतिक्रिया दिनुहोस