aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

गभर्नरले बैंकलाई पेल्नुको यो रहेछ कारण, बल्ल भयो खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
गभर्नरले बैंकलाई पेल्नुको यो रहेछ कारण, बल्ल भयो खुलासा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल बाणिज्य बैंकप्रति सधैं आक्रामक बन्नुको कारण के होला ? यो प्रश्न धेरै बैंकरले सोध्दै आएका थिए । तर, जवाफ फेला परेको थिएन । आर्थिक विषय र विशेषगरी बैंकिङ क्षेत्रको रिपोटिङ गर्दै आएका पत्रकारले पनि पटक–पटक यो प्रश्नको सामना गर्दै आएका छन् । यद्यपि, तथ्यगत जवाफ कसैसँग थिएन । 

अनुमानका आधारमा कोही भन्ने गर्थे–‘अर्थमन्त्रीले उनलाई पेल्छन्, उनी बैंकलाई । यो ठूलाले सानालाई अर्थात् हाकिमले आफू मातहतकालाई पेल्ने परम्परागत शृंखला मात्र हो ।’ अर्काथरीको विश्लेषात्मक अनुमान थियो–‘माथिबाट अर्थ मन्त्रालय र तलबाट राष्ट्र बैंकका  कर्मचारी दुवैतिरबाट असहयोग भएका कारण उनले आफ्नो अस्थित्व रक्षाको लागि गरेको प्रयत्न्न मात्र हो । उनको कुण्ठा, आक्रोशको रुपमा प्रस्फुटित हुँदा केही अस्वाभाविक देखिएको हो ।’ 


तर, सत्य बिहीबार सार्वजनिक भयो । त्यो पनि स्वयम् गभर्नरकै मुखराबिन्दबाट । भएको के रहेछ भने बैंकहरुले उनलाई धेरै निराश परेका रहेछन् । अनि लाजमर्दो अवस्थामा पुर्याएका रहेछन् । त्यहि पीडा उनले नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) ले आयोजना गरेको साइबर सेक्युरिटी सम्बन्धी तालिम कार्यक्रम उद्घाटनको अवसरमा पोखे ।  उनले भने–‘ मुकुक त्यत्रो विपद्मा थियो । तर, तपार्इंहरुले खुलेर सहयोग गर्नु भएन ।’ उनी भूकम्पको समयमा बाणिज्य बैंकहरुले अपेक्षाकृत आर्थिक सहयोग नगरेकोमा असन्तुष्टि पोख्दै थिए । 

त्यो बेला बैंकहरुले गरेको व्यवहार स्मरण गर्दै उनले भने–‘राष्ट्र प्रमुखले सहयोगको लागि अनुरोध गर्नु भो तर तपाईंहरुले वास्ता गर्नुभएन बरु आफंै चाउचाउ बढ्दै, सेल्फी खिच्दै हिँड्नु भो ।’ उनले अगाडी थपे–‘त्यत्रो नाफा कमाउनुहुन्छ । तर, कति कन्जुस । यत्रा बैंकहरुले गरेको सहयोग जम्मा १०–१२ करोड । आम्दानी चाहिँ एउटैको अर्ब माथि ।’

राष्ट्र बैंक स्रोतका अनुसार भूकम्पका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गभर्नरलाई बोलाएरै अनुरोध गरेका थिए ( राष्ट्र संकटमा छ । प्रधानमन्त्री राहत कोषमा पर्याप्त पैसा छैन । तपाईले बाणिज्य बैंकहरुलाई राम्रो रकम सहयोग गर्न भन्नु पर्यो ।’ आफू बैंकहरुले पनि यस्तो बेला पक्कै सहयोग गर्लान् भनेर उनले राम्रै रकम जम्मा गरेर कोषमा राखिदिने बचन प्रधानमन्त्रीलाई दिएका थिए । उनको लागि आफूलाई गभर्नर बनाएको गुन तिर्ने त्यो राम्रो मौका पनि थियो ।

अन्य व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रधानमन्त्रीले गरेको अनुरोधलाई शिरोधार्य गर्नु उनको कर्तब्य पनि थियो । तर, भैदियो उल्टो । त्योबेला पटक–पटक तागेता गर्दा पनि गभर्नरले सबै बाणिज्य बैंकबाट प्रधानमन्त्री कोषमा १८–२० करोड भन्दा बढी पैसा जम्मा गराउन सकेनन् । उनले प्रधानमन्त्रीको ’ खोइ त बैंकहरुबाट सहयोग?’ भन्ने पटक–पटकको प्रश्नमा लज्जित बन्नु पर्यो । त्यस यता उनी बाणिज्य बैंकप्रति सकारात्मक बन्न सकिरहेका छैनन् । त्यसैले कहिले मर्जरमा लगेर संख्या घटाउने कुरा गर्छन् भने कहिले नीतिगत रुपमा कसेर राख्ने योजना बनाउँछन् । 

उनी बैंकसँग रुष्ट र आक्रोशित देखिनुको भित्री कारण त्यही नै हो भन्ने पुष्टि गर्दै नाम उल्लेख नगर्ने सर्तमा राष्ट्र बैंकका एक उच्च तहका अधिकारीले भने–‘अनौपचारिक रुपमा उहाँ (गभर्नर) सधैं भन्नुहुन्छ–‘परेको बेला राष्ट्रलाई हुँदैन । देशको हितमा प्रयोग गर्न सकिँदैन भने किन चाहियो यति धरै बैंक ? के हाम्रो काम ब्यापारीले नाफा कमाउन खोलेका संस्थाको मनोमानीलाई सही छाप लगाउने मात्र हो ? मर्जरमा लानुपर्छ, संख्या घटाउनुपर्छ, व्यापारी र बैंकर छुट्याउनुपर्छ । अनिमात्र बैंकिङ सेक्टर ठिक ठाउँमा आउँछ । देश र जनताप्रति जिम्मेवार र उत्तरदायी बन्छ ।’

प्रतिक्रिया दिनुहोस