
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाखसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।
त्यसैगरी, वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो । यस अवधिमा चालु खाता ५४ अर्ब ६७ करोड रुपौयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५४५ अर्ब ६ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२८८ अर्ब ५० करोडले घाटामा रहेको थियो ।
त्यस्तै २०७९ असार मसान्तमा.१२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई चालु आवको वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० को दश महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय ( महालेखा नियन्त्रक कार्यालय) का अनुसार १० खर्ब ४७ अर्ब ७६ करोड भएको छ ।
समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब ८६ अर्ब ७४ करोड, १ खर्ब २५ अर्ब ६८ करोड र १ खर्ब ३५ अर्ब ३४ करोड रहेको छ । यस अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब ५६ अर्ब २५ करोड भएको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ रु.६८४ अर्ब ६३ करोड र गैर कर राजस्व तर्फ रु.७१ अर्ब ६२ करोड परिचालन भएको छ । आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल आन्तरिक कर्जा ५.७ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ११.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ ।
पूर्णपाठसहित
प्रतिक्रिया दिनुहोस