
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरसमेत रहेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीको जिम्मा राष्ट्र बैंकलाई दिन नहुने समेत बताएका छन् । बिहिबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा खतिवडाले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीको जिम्मा राष्ट्र बैंकलाई नदिओस् है । अहिले नै गोलभेँडा खाइरहेको छ, छारो हानिरहेका छन् । सहकारी लिनु भयो भने तपाईँहरू फस्नु हुन्छ ।’
त्यस्तै उनले बैंकहरुलाइ क्यापिटल नबढाउन सुझाव दिएका छन् । खतिवडाले भने, ‘बैंकहरु अलरेडि ओभर क्यापिटलाइज छन् नै । हाम्रो वित्तीय प्रणाली बैंकिङ सिस्टम जिडिपीको तुलनामा ओभर्ली क्यापिटलाइज छ । यसमा हामी पुगेनौँ, ल्यान्डिङ गर्न पाएनौँ भन्ने होइन । आनन्दले बस्नुहोस्, पिकनिक खाएर रमाइलो गरेर आएपछि थकाइ पनि मार्नु पर्छ बैंकका साथीहरूले ।’
त्यस्तै, उनले क्यापिटलाइजेशनको समस्याले नै अहिले हामी यो अवस्थामा आएको बताए । खतिवडाले भने, ‘यो वा त्यो नाममा बैंकहरुले क्यापिटल बढाउने काम नगर्नु होला । ओभर क्यापिटलाइजेशनको समस्याले पाँच वर्ष यो समस्यामा आइपुगेका छौँ । फेरि पनि बढाउने गर्नु भयो भने हुँदैन । मज्जाले ऋण उठाउनु र लगानी गर्नु भए हुन्छ ।’
खतिवडाले स्प्रेडदर ४ प्रतिशतभन्दा नघटाउन समेत सुझाव दिएका छन् । उनले भने, ‘मैले स्प्रेड दर ९ बाट ५ प्रतिशतमा झारेँ । तपाईँहरूले ४ मा झार्नुभयो । अब नघटाउनुस् । ४ मा हुँदा १०–१२ प्रतिशत प्रतिफल छ, त्यति रहन दिनुपर्छ ।’
आफूले आलु र प्याजमा यतिधेरै कर नबढाएको समेत उनले बताए । साथै खतिवडाले राष्ट्र बैंकलाई शेयर बजारको चिन्ता हुने गरेको भन्दै अब घर जग्गामा पनि ध्यान दिनु पर्ने बताए ।
‘बैंकर र व्यवसायी छुट्याउन मैले खोजेको अहिले सकिएन । एउटा मौका आउँछ कि जस्तो लाग्छ । व्यवसायीले शेयर डाइभर्ट गर्न चाहनु हुन्छ भने अहिले १० प्रतिशत दिए हुन्छ । मर्जर भन्दा राम्रो बाटो यो नै हो’, उनले भने, ‘ब्यालेन्स अफ पेमेन्ट सुध्रिएको होइन । रिजर्भ बढेको छ । आयातसँग सम्बन्धित रेमिट्यान्स बैंकिङ प्रणालीमा आएको हुनाले केही रिजर्भ बढेको हो । यसले गर्दा कुलिङ पिरियड सकिएको छैन ।’
प्रतिक्रिया दिनुहोस