काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त संस्थाहरूले धेरै नै योगदान नगरेको बताएका छन् । नेपाल व्यवस्थापन संघले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
लघुवित्तहरूको योगदान धेरैलाई थाहा भएकोले भुल्न नहुने बताउँदै गभर्नर अधिकारीले भने, ‘ऋण लिएर पीडित कोही हुँदैन, ऋण लिने लाभग्राही हो । कोही सडकमा आएर कराउँदैमा त्यसको योगदानलाई भुल्न हुँदैन, हामी यसलाई नियमनमा ल्याउँछौँ । ऋण लिएपछि तिर्नुपर्छ । ऋण लिएर कोही कमजोर हुँदैन ।’
पुनरकर्जा दुरुपयोग भएको समेत उनले बताए । गभर्नर अधिकारीले भने, ‘कोरोनाका कारण व्यवसाय चलेको थिएन, कसैले कर्जा तिर्न सकेका थिएनन् । हामीले यही कारण सहुलियतका कार्यक्रम ल्यायौ, पुनरकर्जा दियौँ । तर, यसको दुरुपयोग पनि भयो ।’
कोरोना महामारीको समयमा हामी अत्यन्तै सङ्कटमा रहेकाले त्यो बेला सुविधा दिइएको थियो तर अहिले त्यसरी सुविधा दिन नसकिने उनको तर्क छ । उनले भने, ‘अहिले पनि धेरैले यस्तै सहुलियतको अपेक्षा गरेका भए पनि यस्ता कार्यक्रम सधैँलाई निरन्तरता दिन सकिँदैन ।’
आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटलाई हेरेर नै मौद्रिक नीतिले ल्याइने उनले बताए । ‘अहिले मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक जुटेको छ । आगामी असार १० गतेभित्र सुझावहरू दिन सकिनेछ’, उनले भने ।
‘वित्तीय संस्थाहरूमा रनको स्थिति आयो भने केहिले पनि धान्न सक्दैन । त्यो स्वभाविक हो । सहकारीहरूमा पनि परेको त्यही नै हो’, उनले अगाडी भने, ‘सहकारीहरूमा पहिलेको जस्तो समस्या अहिले छ जस्तो लाग्दैन । पहिले जसरी मिस्युज भयो, इन्साइडर भयो, अहिले कहीँ न कहीँ जग्गामा फसेका हुन् की जस्तो लागेको छ । तर, सहकारीमा आएका समस्या समाधान गर्न सकिन्छ ।’
उत्पादनमा लगानीबारे कृषि विकास बैंकलाई लिड बैंकको रूपमा राष्ट्र बैंकले ल्याउन खोजिएको र त्यही अनुसार नै अगाडी बढिरहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस