aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युनिक नेपाल लघुवित्तको एफपीओ सूचीकृत, सोमबारदेखि कारोबारमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असार २०८०
युनिक नेपाल लघुवित्तको एफपीओ सूचीकृत, सोमबारदेखि कारोबारमा आउने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ । कम्पनीले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणमा उक्त एफपीओ विक्री गरी जेठ २५ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै एफपीओ विक्री गरेको हो । ३७ हजार ९४२ आवेदकले प्राप्त गरेको उक्त एफपीओ सोमवारदेखि कारोबारमा आउनेछ । दोस्रो बजारमा कम्पनीको शेयरमूल्य आइतवार प्रतिकित्ता रू. १ हजार ५०९ दशमलव ६० कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७९ दशमलव ६० ले बढेको हो ।

साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्थाअनुसार एफपीओ जारी गरेको हो । कम्पनीमा मर्ज भएको घोडीघोडा लघुवित्तले पहिले नै आईपीओ जारी गरिसकेको थियो ।

युनिक नेपालले आईपीओ जारी गर्न बाँकी रहेको शेयर पूँजीलाई धितोपत्र जारी गर्दा आईपीओ नामबाट जारी गर्न नमिल्ने भएकाले सोही आईपीओ जारी गर्न बाँकी रहेको रकमलाई एफपीओ विधिबाट जारी गरेको हो ।

एफपीओपछि कम्पनीको चुक्तापूँजी रू. १४ करोड ८५ लाख ७५ हजार कायम भएको छ । एफपीओपछि कम्पनीको पूँजी संरचना संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम भएको छ ।
 

प्रतिक्रिया दिनुहोस