
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँके बिच “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना” नामक कार्यक्रमका लागि सम्झौता भएको छ । ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यले यो सम्झौता गरिएको हो ।
विशेषगरि बालिकाहरुलाई बाल विवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने रहेकोले बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धति खाता योजना कार्यान्वयन गरिने बैंकले जनाएको छ । यसमा नेपालगञ्ज उप–महानगरपालिका विविध कोष अन्र्तरगत बालिकाहरुको नाममा मुद्धति खाता खोली कार्यविधि बमोजिमको रकम खातामा जम्मा गर्ने रहेको छ ।
बालिकाहरुको लागि बैंक खाता खोल्ने र उपलब्ध सबैभन्दा अनुकूल ब्याज दरमा पच्चीस हजारको मुद्दती निक्षेप राख्ने सहमति भएको छ । यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन् । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिनेछ ।
प्रतिक्रिया दिनुहोस