
मुलुकले वित्तीय सङ्कट व्यहोरीरहेको छ । वित्तीय अवस्था दिन प्रतिदिन असहज हुँदै गएको छ । व्यवसाय चल्न गाह्रो भएपछि व्यवसाय छोड्ने साना व्यवसायीहरूको संख्या बढ्दो छ ।
वित्तीय क्षेत्रमा देखिएको सङ्कटको असर यति बेला सहकारी क्षेत्रमा अलि बढी देखिएको छ । सहकारीमा एकथरी सदस्यहरूले बचत गरेका छन् । अर्का थरी सदस्यहरूले ऋण लिएका छन् । देशभरका कतिपय सहकारीका सञ्चालकहरू बचत फिर्ता गर्न नसकेका कारण सम्पर्कविहिन भएपछि बचत गरेका शेयर सदस्यहरू यति बेला सहकारीबाट पैसा निकाल्ने प्रयत्नमा छन् । सहकारीमा भएको रकमले थेग्न नसक्ने गरि सदस्यहरू बचत फिर्ता गर्न गएपछि धेरै सहकारीहरूमा यति बेला समस्या सिर्जना भएको छ ।
बजारबाट बचत नआउने, बचत गरेका सदस्यहरू फिर्ता माग्न आउने, ऋणको सावा र ब्याज नआउने कारण सहकारीहरूमा असहज परिस्थिति सिर्जना भएको देखिन्छ । सहकारीमा बचत गर्न सदस्यहरू आउने, ऋणको किस्ता र ब्याज जम्मा गर्न मानिसहरू आउँदा सञ्चालन प्रक्रिया सहज थियो, बजारमा सहकारीका नकारात्मक विषय धेरै आउन थालेपछि बचतकर्ताहरू पैसा झिकेर अन्यत्र लैजान थाले । नियमानुसार राख्नुपर्ने जति मात्र तरलता राखेर सञ्चालन भएका सहकारीहरूलाई पनि तरलताको प्रेसर भएको उनीहरूले ऋणी सदस्यहरूलाई ऋण भुक्तान गर्नका लागि सूचना प्रकाशित गरेबाट बुझ्न सकिन्छ ।
सहकारी सदस्यहरूकै सक्रियतामा सञ्चालन हुने व्यवसाय हो । सदस्यहरूले बचत गर्ने, ऋण लैजाने र समयमा ब्याज र किस्ता तिर्दा संस्था सञ्चालनमा समस्या हुँदैन, तर यति बेला संस्थाबाट जाने बढी आउने कम भएका कारण धेरै नै समस्या देखिएको हो ।
यस्तो बेलामा ऋणी सदस्यहरूले संस्थालाई साथ दिनु पर्ने हो । धेरै संस्थामा धेरै सदस्यहरूले ब्याज र ऋणको निश्चित प्रतिशत भुक्तान गरिदिएका कारण सहजता भएको पनि देख्न, सुन्न पाइन्छ । तर कतिपय संस्थामा ऋण भुक्तान नगरेको भन्दै सार्वजनिक सूचना प्रकाशित भएका धेरै समाचारहरू आइरहेका छन् । सहकारीबाट ऋण लगेर भुक्तान नगर्नेहरू सामान्य मान्छेहरू मात्रै छैनन्, पैसा भएका, पहुँच भएकाहरू पनि छन् भन्ने कुरा यति बेला सहकारीहरूले प्रकाशन गर्ने सूचनाहरू, सहकारीका सञ्चालक कर्मचारीहरुसंगको कुराकानीबाट जानकारी पाउन सकिन्छ ।
यसमध्ये अलि बढी चर्चा हुनेहरूमा पूर्व तथा वर्तमान जनप्रतिनिधिहरू, राजनीतिक दल नेताहरू, ठुला व्यापारीहरू, डिलरवालाहरू रहेको पाइन्छ । कतिपय सहकारीका सञ्चालकहरूको पनि बदमासी देखिन्छ । सञ्चालकले लगेको ऋण नै भुक्तान नभएका कारण पनि धेरै सहकारी समस्यामा छन् । सञ्चालकले मात्रै ऋण तिरिदिए, सहकारी राम्रोसँग चल्छ भन्छन्, त्यस्ता सहकारीका कर्मचारीहरू ।
'एउटा सहकारीको अध्यक्ष तथा पदाधिकारी छ, अर्को सहकारीबाट ऋण लिएर तिर्दैन' यस्ता पनि समस्या भेटिन्छन् । वास्तवमा यी सहकारी विरोधी मान्छेहरू हुन् ।
यस्तै अन्य धेरै क्षेत्रका कतिपय मानिसहरूका कारण सहकारीको ऋण समयमा उठ्न सकिरहेको छैन । जसका कारण सहकारीका कर्मचारी र सञ्चालकहरूलाई तनाव छ । यस्तो बेलामा सहकारीबाट ऋण लगेका शेयर सदस्यहरूले ब्याज र साँवाको केही प्रतिशत मात्रै रकम भुक्तान गरिदिँदा सदस्य केन्द्रित भएर कारोबार गरेका सहकारीहरू सहजै सञ्चालन हुन सक्छन् तर यस्तै यस्तै केही ठालुहरूले ऋण नतिरिदिएका कारण सहकारीहरू समस्यामा परेका छन् ।
सबै सहकारीहरूले अब यस्ता खाले ठालुहरूको विवरण सार्वजनिक गर्नु पर्छ, सदस्यहरूले दुख गरेको बचत रकम ऋणका रुपमा लगेर फिर्ता नगर्नेहरू सहकारीका विरोधी मात्रै होइनन्, सदस्यहरूका समेत विरोधी हुन् । सहकारीमा बचत सङ्कलन भएको रकम आफ्नो निजी घरजग्गा, व्यवसाय सञ्चालन गर्न लगाउने केही बदमास सहकारीहरूका सञ्चालक र कर्मचारी जस्तै सहकारीमा जम्मा भएको बचतबाट ऋण लगेर नतिर्नेहरूलाई पनि राज्यले कारबाहीको दायरामा ल्याउनु पर्छ ।
यदि सहकारीहरूलाई सुधार गर्ने हो भने सबै भन्दा पहिला सहकारीको बचत रकम आफ्नो निजी व्यवसायमा लगाउनेहरूलाई कारबाही गरी सबै बचतकर्ताको रकम फिर्ता गराउनु पर्छ । सहकारीहरूले लगानी गरेको ऋण तिर्दिन भन्नेहरूलाई राज्यका सेवा सुविधा, सिफारिस बन्द गराउन सक्नु पर्छ । यति मात्र गर्ने हो भने पनि सहकारीको धेरै समस्या समाधान हुन्छ ।
सहकारीबाट ऋण लिएर विदेश गएका कतिपय मानिसहरूका लागि राज्यका निकायले सम्बन्धित देशको दूतावासमा पत्र लेखेर यस्ता वद्मासहरुलाई ऋण तिराउने विकल्प अगाडि बढाउनु पर्छ ।
सहकारीबाट ऋण लगेर नतिर्ने जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू, ठुला व्यवसायीहरू, ठेकेदारहरू, सहकारीका सञ्चालकहरू, कर्मचारी र विदेश बस्नेहरूलाई पहिलो चरणमा ऋण तिराउन लगाउनु पर्छ, तिरेनन् भने तिनीहरूबाट कारबाही प्रक्रिया अगाडि बढाउनु पर्छ ।
प्रतिक्रिया दिनुहोस