
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीहरूले एक महिनाभित्रमा विवरण पेश गर्नु पर्ने भएको छ । महानगरपालिकाले बुधवार सहकारी संस्थाहरुलाई विवरण उपलब्ध गराउन ताकेता गरेको हो ।
काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाले साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ । दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने हुन्छ ।
त्यस्तै, दफा ५२ ले तोकिए बमोजिमका विवरणहरू बुझाउनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरू, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ ।
यस्तो कानुनी व्यवस्था हुँदाहुँदै केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेका छैनन । ‘सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ’, महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस