काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले जेठ मसान्तसम्म रू. १ करोड १० लाखभन्दा बढी नाफा गरेको छ । वैशाख मसान्तसम्म रू. ९ करोड ३० लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाले जेठमा भने नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको हो ।
वैशाख मसान्तसम्म रू. ७ करोड ३९ लाखभन्दा बढी आम्दानी ऋणात्मक रहेको कम्पनीले जेठ मसान्तसम्म रू. ३ करोड १७ लाखभन्दा बढी आम्दानी गरेको छ । खर्च रकम भने वैशाख मसान्तसम्म रू. १ करोड ९१ लाखभन्दा बढी भएकोमा जेठ मसान्तसम्म रू. २ करोड ७ लाखभन्दा बढी भएको छ । खर्च रकम भने वैशाखको तुलनामा जेठमा बढेको हो ।
यो महिना योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्यमा समेत बृद्धि भएको छ । वैशाखमा रू. ९ दशमलव शून्य ९ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य जेठमा रू. १० दशमलव ११ कायम भएको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड २५ लाख ७६ हजार ३६० इकाई जारी गरेको थियो ।
धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्य सहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म कमिसन सहित रू. ९६ करोड ९२ लाखभन्दा बढीको लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ९२ करोडभन्दा बढी मात्र छ । बैंक मुद्दती निक्षेपमा भने योजनाले यस अवधिसम्म रू. ३ करोड लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस