aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘सहकारी क्षेत्रमाथि चौतर्फी आक्रमण भयो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असार २०८०
‘सहकारी क्षेत्रमाथि चौतर्फी आक्रमण भयो’

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद पुनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको सहकारी क्षेत्रमाथि यतिबेला चौतर्फी आक्रमण भइरहेको बताएका छन् । मालिका गाउँपालिका सहकारी शाखाले सञ्चालन गरेको तिन दिने सहकारी शिक्षा तालिमको आइतबार समापन कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताएका हुन् ।

समस्या हरेक क्षेत्रमा छन्, सहकारी क्षेत्रमा पनि समस्या छन्, समस्या देखिएका छन्, केही नियत खराव भएका सहकारीहरुले गरेको बद्मासीलाई देखाएर आम सहकारी क्षेत्रलाई तर्साउने गरी भएका प्रचारलाई निस्तेज पार्नका लागि सबै तहका सरकार र अभियान गंभिर बन्नु पर्नेमा उनको जोड थियो ।

बदमासी गर्नेलाई कार्वाही गर्ने हो, उनीहरुले गरेको गल्तीको भारी आम सहकारीलाई बोकाउने गरी जसरी प्रचार गरिएको छ, यसलाई चिर्नका लागि पालिका सरकारले पहल गर्ने र त्यसमा पालिका भित्रका सबै सहकारीहरुले सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।

सहकारीका सञ्चालक र कर्मचारीहरुले कमजोरी गरेका छन् भने हामीले कार्वाही गर्छौ, तर देशमा आएको वित्तीय संकटका कारण समस्या देखिएका सहकारीहरुलाई जोगाउनु पनि पालिकाको र अभियानको जिम्मेवारी हो, अध्यक्ष पुनले भने, कुनै क्षेत्रमा समस्या आयो भने सबै एउटै हुन, सबै बद्मास हुन्, सबैले गलत गरेका छन् भन्ने तरिकाले प्रचार गरिनु हुँदैन । 

सहकारी संस्थाहरुले वचत तथा ऋणको कामसंगै सदस्यहरुलाई उत्पादनमा अग्रसर गराउने, उत्पादित वस्तुको बजारीकरणमा समेत ध्यान दिनु पर्नेमा अध्यक्ष पुनले जोड दिए ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगरले समुदाय केन्द्रीत सहकारीले गरेको सकारात्मक विषयहरु जनता र राज्यका बीचमा लैजानु पर्नेमा जोड दिए । सहकारीले विपन्न वर्गका जनताको आर्थिक विकास र सामाजिक सशक्तिकरणमा धेरै योगदान गरेका छन, केही बदमास सहकारीहरुका कारण सबैलाई एउटै तरिकाले हेर्ने र व्यवहार गर्न नुहने उनको भनाइ थियो ।

तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट नव मालिका वचत तथा ऋण सहकारी संस्थाका सचिव छवि विक र न्यू दरवाङ महिला वचत तथा ऋण सहकारी संस्थाका सचिव लक्ष्मी सापकोटा आचार्यले तालिमबाट सहकारी संस्थालाई थप व्यवस्थित गराउन आवश्यक विषयहरु र सदस्यसंगको सम्बन्ध थप विस्तारका लागि योजना बनाउने विषयमा समेत सचेत बनाएको बताएका थिए ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए । तालिममा गाउँपालिकाको सहकारी ऐन र पालिकाका सहकारीहरुको सम्बन्ध, सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको भूमिका, सहकारीमा वचत परिचालन र ऋण जोखिम व्यवस्थापन, सदस्यहरुका लागि वित्तीय साक्षरता लगायतका विषयमा सहजीकरण गरिएको गाउँपालिकाका योजना अधिकृत तथा सहकारी शाखा प्रमुख सोम बहादुर केसीले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस