काठमाडौं । सरकारले अनुदानमा दिएको मल इलामको एक सहकारीले बिचौलियालाई बेचेको पुस्टि भएपछि जिल्ला प्रशासन कार्यालय इलामले जफत गरेको छ । अनुदानमा आएको मल इलाम नगरपालिका एक नेपालटामा रहेको सूर्यज्योति कृषि सहकारीले इलाम सदरमुकाममा रहेको कृषि बिज भण्डारलाई बेचेको पुष्टि भएपछि जफत गरेको हो । जफत गरिएको मल इलाम नगरपालिकालाई बुझाएको छ ।
अनुदानको मल इजाजत बिना नै कृषि बिज भण्डारले सहकारीबाट खरिद गरेर किसानलाई महंगो मुल्यमा विक्रि गरेको पाइएको छ । कृषि बिज भण्डार भेषराज पराजुलीको नाममा दर्ता रहेको छ । सो पसललाई दुई लाख जरिमाना समेत गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । उनले जफत गरिएको मल इलाम नगरपालिकालाई जिम्मा लगाइसकिएको छ । किसानलाई वितरण गर्ने गरि सो मल नगरपालिकालाई दिइएको उनको भनाई छ ।
अनुमगनका क्रममा जिल्ला प्रशासन कार्यालय इलामे नेतृत्वको टोलीले बुधबार सो पसलको गोदाममा सिल गरेको थियो । सरकारी अनुदान प्राप्त ३४ बोरा युरिया, १८ बोरा डिएपी गरि जम्मा ५२ बोरा मल इलाम नगरपालिकाले जिम्मा लिएर इलामको गौतमबुद्ध सभागृह सिटीहलमा राखिएको इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले बताए । भेषराज पराजुलीले सञ्चालन गरेको कृषि बिज भण्डारको गोदामबाट जफत गरेर आफुहरुले राखेको कृषि शाखा प्रमुख नेपालको भनाई छ ।
जफत गरिएको मल प्रमुख इलाम नगरपालिकाको निर्णयबाट कृ गर्ने भन्ने टुंगो लगाउने उनको भनाई छ । गोदाममा सिल गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोईरालाको नेतृत्वमा रहेको अनुगमन टोलीले आवश्यक कागजात सहित तीन दिन भित्रमा प्रशासनमा उपस्थित हुन विज भण्डारका संचालकलाई निर्देशन दिएको थियो । अनुगमनको टोलीलाई भने कृषि विजका संचालकले झापाको चारआलीबाट मल खरिद गरेको बताएपनि उनले खरिद गरेको आवश्यक कागजपत्र देखाउन सकेनन् ।
इलामका पालिकाहरुलाई कोटा निर्धारण गरेर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल उपलब्ध गराउँदै आएको छ । सोही मलमा सहकारी र बिचौलियाको मिलेमतोमा यसरी कारोबार हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस