
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यस अघि गत जेठ २३ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
यी दुई कम्पनीहरूबीच गत चैत २९ गते प्राप्ति सम्बन्धि प्रारम्कि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । यी दुई कम्पनीलाई एक हुन नेपाल धितोपत्र बोर्डले समेत असार ४ गते स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूलाई एकिकृत कारोबारको बाटो खुला गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत स्वीकृति लिनुपर्नेछ ।
नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको एक महिनाभित्र प्राप्ति प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरू गर्नुपर्नेछ । एकिकृत कारोबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका नामबाट गर्ने गरी राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो । प्राप्तिपछि केन्द्रिय कार्यालय बनेपा नगरपालिका वडा नम्बर १३, काभ्रेपलाञ्चोकमा रहने जानकारी कम्पनीले दिएको छ ।
हाल आशा लघुवित्तको चुक्तापूँजी रू. ३८ करोड १६ लाख १६ हजार रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी रू. २६ करोड रहेको छ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन ।
प्रतिक्रिया दिनुहोस