काठमाडौं । विदेशमा गएका नेपालीले दैनिक अढाई अर्ब रेमिट्यान्स नेपाल भित्र्याउन थालेका छन् । चालू आर्थिक वर्षको शुरु महिना साउनमा मात्र ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसको अर्थ प्रत्येक दिन साढे दुई अर्ब बढी रेमिट्यान्स भित्रन थाल्नु हो । चालू आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च दरले बढ्न थालेको छ । साउनमा रेमिटयान्स वृद्धिदर ३३.१ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
चालू आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च देखिएको छ । उक्त अवधिमा अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि समग्र रेमिट्यान्स वृद्धिदर उच्च बनेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अधिकारीले जानकारी दिए ।
ती राष्ट्रमा रेमिट्यान्स सेवा प्रदायक कम्पनीको पहुँच वृद्धिसँगै वैधानिक बाटोबाट आउने रेमिटयान्स बढ्न थालेको हो । यसअघि ती राष्ट्रमा रेमिट्यान्स सेवा प्रदायक कम्पनीको उपस्थिति सहज थिएन । यसकारण नेपाली बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीले ती राष्ट्र«बाट रेमिट्यान्स ल्याउन अप्ठयारो थियो ।
पछिल्ला महिनामा ती राष्ट्र«मा धेरै रेमिटयान्स प्रदायक संस्थाको संख्या बढेको छ । यसकारण नेपाली कम्पनीलाई पनि त्यहाँबाट रेमिट्यान्स ल्याउन सजिलो भएको हो । यसअघि ती राष्ट्रमा कार्यरत अधिकांश नेपालीले हुन्डीलगायत अन्य अवैधानिक प्रणालीमार्फत रेमिट्यान्स पठाउँदै आएका थिए । धेरै नेपाली रहेका मलेसिया र कतारमा अझै पनि वैधानिक बाटोबाट रेमिटयान्स ल्याउन समस्या भएको रेमिट्यान्स कम्पनीहरु बताउँछन् ।
पछिल्ला वर्षमा रोजागारीमा जाने नेपालीको संख्या घटदै गएको छ । तर, अमेरिकी डलरको भाउ बढेकाले रेमिटयान्स बढेको विज्ञ बताउँछन् । । साउनमा नेपाली मुद्रा (नेरु) सँग अमेरिकी डलरको विनिमय दर उच्च नै रहन पुग्यो । नेपालमा भारतबाहेक सबै राष्ट्रबाट आउने रेमिट्यान्स अमेरिकी डलरमा आउँछ । यसकारण डलरको विनिमय दर बढेपछि रेमिटयान्स आप्रवाह पनि बढ्छ र घट्दा घट्छ ।
गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो । त्यसमध्ये करिब २ खर्ब रुपैयाँ भारतबाट मात्र आएको छ । अघिल्ला वर्षमा भारतबाट निकै कम रकम मात्र वैधानिक बाटोबाट आउने गथ्र्यो । भारतमा बैंकबाहेक रेमिट्यान्स कम्पनीहरू पनि सक्रिय बन्न थालेपछि वैधानिक बाटोबाट आउने रेमिट्यान्स बढेको हो ।
भारतसँगै अमेरिका र कोरियाबाट पनि वैधानिक प्रणालीबाट आउने रेमिट्यान्स बढ्न थालेको छ । । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १९ प्रतिशतले घटेको छ ।
उक्त अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको सरकारी तथ्यांक छ । नेपाल भित्रिने रेमिट्यान्समध्ये अधिकांश हिस्सा खाडी मुलुक र मलेसियाबाट आउने गरेको छ । खाडी राष्ट्रमध्ये पनि साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेटस (दुबई) र बहराइनबाट धेरै रकम नेपाल आउँछ ।
अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिकाबाट १०–१२ प्रतिशत रेमिटयान्स मात्र मुलुक भित्रिँदै आएको छ । खाडी राष्ट्रको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ । त्यो आम्दानीको ठूलो हिस्सा नेपाल पनि भित्रन्छ ।
प्रतिक्रिया दिनुहोस