नेपालको साना किसान कृषि सहकारीको क्षेत्रमा थप परिचय दिइरहनु नपर्ने व्यक्तिको नाम हो, खेम बहादुर पाठक । उनको नेतृत्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विगत लामो समयदेखि मुलुकभरका साना किसान कृषि सहकारीहरूसँग सहकार्य गर्दै आएको छ । ती सहकारीलाई ऋण प्रदान गरेर कृषि क्षेत्रमा काम गर्न अभिप्रेरित गर्दै आएको यो संस्था हालै आरएमडीसीसँग मर्जरमा गएको छ । मर्जरपछि समेत साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको जिम्मेवारीमा रहेका उनै पाठकसँग आर्थिकन्यूजकी रिता राउतले संवाद गरेकी छिन् । प्रस्तुत छ, सोही वार्ताको सम्पादित अंश:
अन्य लघुवित्त भन्दा साना किसान लघुवित्त के कुरामा फरक छ ?
वि.स. २०५८ सालमा साना किसान बैकबाट स्थापना भएको यो संस्था अहिले साना किसान विकास लघुवित्त वित्तीय संस्था बनेको छ । यसले नेपालभर छरिएर रहेका साना किसान कृषि सहकारी संस्थाहरूलाई यसमा जोडेर थोक कर्जा दिँदै आएको छ । व्यक्तिलाई कर्जा दिने अन्य संस्थाहरू थिए नै तर सहकारीलाई पनि थोक कर्जा दिने संस्था स्थापना गर्नु पर्छ भनेर हामीले यो सुरुवात गरेका हौँ ।
साना किसान लघुवित्त आफै पनि राष्ट्र बैकबाट थोक कर्जा प्रदान गर्ने अधिकार पाएको संस्था हो । यस संस्थाको उद्देश्य साना किसान कृषि सहकारीहरूलाई थोक कर्जा प्रदान गर्ने, सुशासनका कुरा सिकाउने, सहकारी अभ्यासमा उत्प्रेरित गर्ने, साना किसान सहकारीका सदस्यहरूलाई उत्थान गर्ने, कृषिमा लाग्न उत्प्रेरित गर्ने, समुदायका युवाहरूलाई कृषिमा लगाउने हो ।
ग्रामीण क्षेत्रका रहेका गरिब किसानहरू जसको वित्तीय पहुँच पुग्दैन उनीहरूलाई हामीले सेवा प्रवाह गरिहरेका छौँ । हामी अहिले दुई सय ५२ वटा स्थानीय तहमा पुगिसकेका छौँ । १२ सयको हाराहारीमा साना किसान सहकारीहरू आबद्ध भएका छन् । त्यतिकै संख्यामा सहकारीहरू पनि आबद्ध रहेका छन् । योसँगै सबै गर्दा १५ सय ७० वटा संस्थाहरू हामीसँग जोडिएर काम गरिरहेका छन् । यी सबैमा १२ लाख घरपरिवार जोडिएका छन् ।
ग्रामीण क्षेत्रमा काम गरेर बसेका उस्तै प्रकृतिको विषय उद्देश्य सबै कुरा मिल्ने सहकारीहरुलाईै यो मोडेलमा ल्याउने कार्यक्रम पनि हाम्रो छ । वार्षिकरुपमा झन्डै ७० वटा संस्थाहरू हाम्रोमा जोडिँदै आउनु भएको छ । हामीले ल्याएको कार्यक्रमहरू अत्यन्तै राम्रो भएकोले सरकारले पनि सबै स्थानीय तहमा पुर्याउनका लागि आग्रह गरेको छ । जस अनुसार नै हामी अगाडी बढिरहेका छौँ । एक वर्षभित्रमा हामी हुम्लामा पनि पुग्ने तयारी गरिरहेका छौँ ।
हामीले सेवा प्रवाह गर्नु भन्दा पहिले सुरुमा हामी स्वयंसेवक नियुक्ति गर्छौ । त्यसपछि हामी तदर्थ समिति बनाउँछौँ । नेतृत्व गर्नेहरूलाई तालिम दिएर फिल्डमा जान्छौँ । त्यसपछि ती गरिब किसानहरू भएको ठाउँमा गएर जोडिने र तालिम दिने, सिकाउने गर्छौ ।
किसानहरू बुझ्ने भइसकेपछि एक वर्षपछि उनीहरूलाई कम्तीमा आफ्नो ३० लाख शेयर पुँजी बनाउने र चार सय न्यूनतम घर नजोडिएसम्म हामी संस्थागत ढङ्गले अगाडी बढाउँदैनौ । विधानमा रहेको कार्यक्षेत्रमा रहेको सबैकोमा हामी पुग्नु पर्छ भनेर हामीले काम गरेका कारण पनि राम्रो भएको हो । एक घर एक सदस्य बनाएर कुनै घर नछुटाई हामीले सेवा प्रवाह गरिरहेका छौँ ।
साना किसानले नाम अनुसार नै काम गरेको छ भन्ने आधारहरू के के हुन् ?
हाम्रो नेपालमा खासै ठूला किसानहरू छैनन् । तराईमा केही केहीमा जग्गाजमिन धेरै छ नत्र ग्राणिम भेगमा रहेका सबैजसो किसानहरू साना किसान नै हुन् । त्यो पनि ६ महिना खान पुग्ने तीन महिना खान पुग्ने खालका धेरै हुनुहुन्छ ।
साना किसान भन्नेवित्तीकै सबैभन्दा गरिब कहाँ जानु पर्यो । हामीले कुनै पनि सेवा पाउनबाट वञ्चित रहेकाहरूलाई सदस्य बनाउने गरेका छौँ । उनीहरूलाई माथि उठाएर मध्यम वर्गीय किसानको स्तरमा ल्याउने गरेका छौँ । त्यसपछि मात्रै अरूलाई जोड्ने गरेका छौँ ।
साना किसानकै कारण ती साना किसानको जीवनस्तर उकासिएको केही उदाहरणहरू बताइदिनुहोस् न ?
त्यस्ता अनगिन्ती उदाहरणहरू छन् । त्यो सूची भन्न धेरै समय लाग्छ । हामीले जङ्गलमा बस्ने समुदाय जो मानव सभ्यतामा आएका छैनन् उनीहरूलाई समेत हामीले यहाँ जोडेका छौँ । राउटे समुदायका ६८ घर परिवारलाई सदस्य बनाएका छौँ । उनीहरूलाई मद्दत पुग्ने गरेर कार्यक्रमहरू सञ्चालन गरेका छौँ ।
गएको वर्ष हामीले गरेको साधारण सभामा सबैभन्दा राम्रो व्यवसाय गरेर पुरस्कार पाउने तिनै राउटे समुदायमध्येका एक रहेका थिए । उनले सबैभन्दा राम्रो बाख्रा फर्म चलाएर काठमाडौं आएर पुरस्कार लिएर गए । बनकरिया, मुसहर जातीको समुदायहरूले राम्रो व्यवसाय गरेर पुरस्कृत भएका छन् । यस्ता धेरै उदाहरणहरू छन् ।
सिराहाका गङ्गा मुखिया जन्मिँदै सुकुम्वासी भएर जन्मिए । जसलाई साना किसानले पौड कक्षामा पढाएर सदस्य बनायौँ । त्यसपछि सात दिन माछा पालनको तालिम दियौँ । त्यो तालिम सकिएपछि थोरै पैसा दिएर एक रोपनी जमिनमा माछाको भुरा हुर्काउने काम गरे । त्यसपछि उनले फर्महरू बढाए । भारतमा समेत व्यवसाय सञ्चालन गरे ।
अहिले उनी माछाको डा. भनेर चिनिन थाले । यसरी उनी माछा पालनबाट ६५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्न थाले । अहिले उत्कृष्ट व्यवसायीकारुपमा परिचित छन् ।
धादिङका एक युवाले तरकारी नै बेचेर एक वर्षमा एक करोड आम्दानी गर्नु भएको छ । यसका साथै धेरै महिलाहरूको पनि हामीले जीवनस्तर उकासेका छौँ । अब हामीले सामान्य निर्वाहमुखी भन्दा पनि उद्यमी बनाउने भनेर नयाँ योजना बनाइरहेका छौँ । ठूलो कार्यक्रमहरू सञ्चालन गर्नका लागि हामीले एसियाली विकास बैंकसंग सहकार्य गर्न लागेका छौँ ।
यहाँहरू लामो समयदेखि किसानको लागि काम गरिरहनु भएको छ । तर, युवाहरू बिदेसिने क्रम बढ्दो छ । उनीहरूलाई व्यवसायीकरण कृषिमा लगाउन सकिँदैन?
असाध्यै महत्त्वपूर्ण प्रश्न गर्नु भयो । यहाँ एकदमै ठूलो समस्या पनि रहेको छ । जुँगाको रेखी बस्नै नपाइ बिदेसिने युवाहरू बढ्दो छन् । यसो हुनुमा उनीहरूले नेपालमा सम्भावना देख्न सकेनन् होला । तर, युवाहरूलाई नेपालमा केही गर्न लगाउने सक्ने खालका केही आधारहरू हामीसँग पनि छन् । यसमा हामी मात्रैले सक्दैनौँ । सरकारको साथको आवश्यक रहेको छ ।
साना किसानले इजरायल सरकारसँग सम्झौता गरेर १०/१२ वर्षदेखि त्यहाँको प्रविधि सिक्नको लागि युवाहरू पठाउने गरेका छौँ । उनीहरू एक वर्षको लागि त्यहाँ जान्छन् र सिप सँगै १५ लाख भन्दा बढी पैसा पनि कमाएर आउँछन् । त्यसरी फर्केर आएर धेरैले यहाँ काम गरेका छन् । राम्रो आम्दानी गरेका छन् ।
अवसर पाउनेहरूले नेपालमा गर्दैनन् भन्ने छैन । गर्न चाहनेहरुलाई समेत हामीले अवसर दिनै सकिरहेका छैनौँ । हामीले प्रविधि सिकाउन सकेका छैनौँ । न समयमा मल पाइन्छ न त उत्पादन भएका वस्तुहरूको बजारको ग्यारेन्टी गरिदिन सकेका छौँ । बजार निश्चित व्यक्तिको कब्जामा छ । आफ्नो उत्पादनको सामानको मूल्य किसानले राख्न पाएको छैन । लागेको लागतमा बेच्न पाउँदैन भने उसले खेती किन गर्छ ? दुःख गर्ने एउटा कमाउने अर्को वातावरण सिर्जना भएको छ । यसो हुँदा अरूलाई धनी बनाउन हामी मात्रै किन खेतीमा लाग्ने भनेर धेरै बाहिर गएका छन् ।
नेपालमा उत्पादनको समस्या होइन । हाम्रो किसानले मेहनत गर्दैनन् भन्ने होइन । मेहनत पनि गर्छन् । तर, नेपालमा बजारको समस्या छ । त्यो सँगै प्रविधिको ज्ञान नै दिन सकिएको छैन । किसान आफैले जान्दैन । उनीहरूलाई सिकाउने दायित्व कसको हो ? त्यो जिम्मेवारी कसैले लिन सकेको छैन ।
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक भएर साना किसान लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्नु भएको छ, आगामी योजना के छन् ?
मर्जर जानु भनेको हिजो जस्तो थियो त्यस्तै ढङ्गमा अगाडी बढ्ने भन्ने होइन । जति ठूलो संस्था भयो त्यसको दायरा, क्षेत्र, व्यवसाय, काम, जिम्मेवारी सबै बढ्छ । हिजोको भन्दा फरक काम गर्नु पर्छ भनेर हामीले तयारी गरिरहेका छौँ ।
लघुवित्त नै रहेर अगाडी बढ्ने कि के गर्ने भन्ने पनि हामीले छलफल गरिरहेका छौँ । पहिले हामीले बैंक भनेर नै दर्ता भएका थियौँ, अब फेरि त्यसरी नै बैंक भनेर अगाडी बढ्ने की भन्ने योजना छ ।
नेपालको विशिष्टीकृत बैङ्कको रुपमा अगाडी बढ्ने भन्ने हो । हामीले विशेष कृषिमा काम गरिरहेका छौँ । सरकारले पनि त्यही अनुसार साथ सहयोग गरिरहेको छ । अब सरकारले नीतिगत ढङ्गले निर्णय गरिदिनु पर्छ भने हाम्रो माग छ ।
हामी अहिले ७२ प्रतिशत स्थानीय तहमा पुगिसकेका छौँ । बाँकी स्थानीय तहमा पुग्नु पर्छ । सरकारले पनि सबै स्थानीय तहमा पुग्न भनेको छ । त्यही अनुसार हामी अगाडी बढ्ने योजना छ ।
हाम्रो पुँजी पनि झन्डै वाणिज्य बैंकहरुको हाराहारीमा पुगेको छ । ‘ख’ वर्गको बैंक स्थापना गर्नका लागि हाम्रो पुँजी पुगिसकेको छ । हाम्रो विषय पनि कृषि रहेका कारण सरकारले राखेको सम्बन्धित उद्देश्य, सोचमा हामी मद्दत पुर्याउछौं । सरकारको योजनामा हामीले पनि एउटा इँटा थप्ने काम गर्छौ ।
जहाँ वित्तीय पहुँच पुगेको छैन, जहाँ किसानले सेवा पाएका छैनन्, जुन ठाउँका किसानले पुँजी लिएर व्यवसाय गर्छु भन्न नपाएको अवस्था छ त्यहाँ हाम्रो उपस्थिति हुन्छ । त्यही अनुसार नै हामी अगाडी बढेका छौँ । अब हामी नेपालको वित्तीय कारोबार गर्ने, धेरै जनताको बिचमा पुग्ने, धेरै खाले सेवा दिने, कृषिलाई ठूलो टेवा पुर्याउने संस्थाकोरुपमा अगाडी बढ्नेगरि तयारी गरेका छौँ ।
हामीसँग यस्तै प्रकृतिका काम गर्ने अन्य संस्थाहरू पनि जोडिन सक्नु हुन्छ । नेपालमा वित्तीय कारोबार गर्ने धेरैलाई आफ्नो साझेदार बनाएर काम गर्ने सबैभन्दा ठूलो संस्थाकोरुपमा अगाडी बढ्ने योजना लिएका छौँ । राज्यले पनि हामीलाई सधैँ सहयोग गर्नु पर्छ भनेर भन्दैनौँ । तर, हामीले गर्न नसकेको काममा सहयोग भने गर्न आवश्यक छ ।
पछिल्लो समय लघुवित्तविरुद्ध भइरहेका आन्दोलनलाई कसरी हेर्नु भएको छ ?
अहिले दुई थरी मानिसहरूले आन्दोलन गरिरहनु भएको छ । एक थरी लघुवित्तमै जोडएकाहरु छन् भने अर्कोथरि उचालेका आधारमा सडकमा आएका छन् । लघुवित्त भित्रकै पनि समस्या पनि छन् । लघुवित्तमा कुनै पनि व्यक्तिलाई जोडेर ऋण दिँदा विचार पुर्याएर दिनु पर्ने हो तर त्यसरी गर्न सकेका छैनौँ । एउटै व्यक्तिलाई १०/१२ वटा संस्थाले ऋण दिएको छ । ऋण दिनेले नसोची ऋण दिएर समस्या आएको छ ।
कतिपय लघुवित्तहरूले 'हामी साना किसान जस्तो होइनौँ है हामीले त बाटोमा भेला भएर जति बेला पैसा चाहियो त्यति बेला नै दिने हो । साना किसानको त समूहमा निर्णय गर्नु पर्ने, अन्तर समूहलाई सिफारिस गर्नु पर्ने, त्यसपछि सञ्चालक बस्नु पर्ने, ऋण कमिटीले निर्णय गर्नु पर्ने जस्तो झन्झटिलो प्रक्रिया भयो' भन्दै जस-जसले लगानी गरे उनीहरूलाई नै समस्या आएको हो ।
जसले ढङ्ग पुर्याएर लगानी गरेनन् उसैलाई हो समस्या परेको अन्यलाई होइन । हामीले ऋण दिँदा धेरै विचार पुर्याएर ऋण दिएका कारण कुनै समस्या छैन । ऋण दिँदा हतारमा होइन सबै कुरा बुझेर बुझाएर मात्रै ऋण लगानी गर्नु पर्छ ।
जसले ढङ्ग पुर्याएर लगानी गरेनन् उसैलाई हो समस्या परेको अन्यलाई होइन । हामीले ऋण दिँदा धेरै विचार पुर्याएर ऋण दिएका कारण कुनै समस्या छैन । ऋण दिँदा हतारमा होइन सबै कुरा बुझेर बुझाएर मात्रै ऋण लगानी गर्नु पर्छ ।
हाम्रो काम हामीले पुँजी दिएर ब्याज कमाएर खानेको रुपमा अगाडी बढ्ने होइन । हामीले दिएको पुँजीले उसको जीवन कसरी चलेको छ, उसको प्रगति भएको छ की छैन भनेर पनि हेर्नु पर्छ ।
संस्था बेठिक हुँदैन । त्यसको नेतृत्व गर्नेहरू ठिक या बेठिक हुन्छन् । विकृतिहरू क्षणिक फाइदा र कमाइखाने भाँडो बनाउनेहरूले ल्याएका हुन् । अहिलेको विकृति विसङ्गतिबाट संस्था जोगाउनु पर्छ । बढी जान्ने र बाठो भएर विधि विधान भन्दा बाहिर गएर काम गर्दा समस्या आएको छ । उद्देश्य र मर्म अनुसार अगाडी बढ्ने हो भने मुलुकमा ठूलो मद्दत पुर्याउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस