aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

सबै ग्राहकको पैसा सुरक्षित छ, आत्तिनुपर्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
सबै ग्राहकको पैसा सुरक्षित छ, आत्तिनुपर्दैन

काठमाडाैं ।  कृषि विकास बैंकले ग्राहकहरुको पैसा सुरक्षित रहेको बताएको छ । कृषि विकास बैंकको लाहान शाखाबाट मंगलबार करिब दुई करोड रुपैयाँ चोरी भएको घटना सम्बन्धमा बैंकले ग्राहकहरूलाइ ढुक्क रहन अाग्रह गरेकाे हाे ।

बैंकका कुनै पनि ग्राहकको खाताबाट पैसा झिकिएको छैन । बैंकका प्रवक्ता हिमलाल पौडेलले दुरुपयोग गरि निकालिएको पैसा बैंकको अन्तरिक खाताको रहेको बताए ।

उनले नेपाली पैसासँग भने, ‘दुरुपयोग गरी निकालिएको पैसा बैंकको अन्तरिक खाताको हो । यसमा बैंकका कुनै पनि ग्राहकको पैसा निकालिएको छैन ।’ ग्राहकहरु आत्तिनुपर्ने अवस्था नरहेको समेत बैंकले स्पष्ट पारेको छ । 

बैंकको लाहान शाखाका कर्मचारीको पासवर्ड दुरुपयोग गरिएका कारण पैसा हिनामिना भएको पारम्भिक अनुसन्धानले देखाएको उनले जानकारी दिए । यद्दपि, कसरी रकम दुरुपयोग भयो र यसमा को–को दोषी छन् भन्ने बारेमा यकिन जानकारीको खोजी भइरहेको उनको भनाई छ । 

प्रवक्ता पौडेलले भने, ‘के कारणले रकम दुरुपयोग भएको हो त्यसको अध्ययन, अनुसान्धान गर्न नेपाल राष्ट्र बैंक र कृषि विकास बैंकका अधिकारीहरु लाहान पुगिसक्नु भएको छ । उहाँहरुले नेपाल प्रहरीसँग सम्मन्वय गरेर अनुसन्धान थाल्नु भएको छ । दुरुपयोगका बारेमा छिट्टै यथार्थ विवरण बाहिर आउनेछ ।’ 

बैंकबाट कति पैसा निकालिएको भन्ने अझैसम्म एकिन नभएको जानकारी दिए । उनले भने, ‘दुरुपयोग भएको रकम २ करोड भन्दा कम छ ।’ बैंकका कर्मचारीलाई दिइएको युजर आइडी र पासवर्ड प्रयोग गरेर पैसा ह्याक गरी पैसा निकालिएको आशंकामा प्रहरीले शंकास्पद कर्मचारीहरुलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस