
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकार रिबन काट्ने व्यस्त हुँदा सहकारी पीडितहरूको यो दिन आएको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सहकारी पीडितहरूको यो अवस्था आउनुमा राज्य पनि जिम्मेवार रहेको बताएका हुन् ।
बैठकमा बोल्दै उनले भने, ‘जुन निकायले अनुगमन गर्नु पर्ने हो त्यो निकायले राम्रोसँग अनुगमन गरेन । अनुगमन राम्रोसँग नहुँदै गर्दाको अवस्था यस्तो हुन्छ भन्ने थाहा थियो । उसले यो अवस्था कुरेर बस्यो । जसले उसलाई काम लगाउनु पर्ने थियो उपनि केवल रिबन काट्नमा मात्रै व्यस्त भयो ।’
उनका अनुसार धेरै कुरा भत्किएपछि सरकारले गएको वैशाख २६ गते एउटा अध्ययन कार्यदल गठन गरेको छ । यो अध्ययन कार्यदलले २७ बुँदामा प्रतिवेदन बुझाइसकेको छ । यो प्रतिवेदनमा धेरै कुराहरू समेटिएका छन् ।
जुन बचतकर्ताको रकम अहिले रोकिएको छ उनीहरूको रकम फिर्ता गराउनका लागि बुँदामा समेटिएका कुरा आजैबाट समेटिनु पर्ने समेत उनको माग छ । यसका साथै उनले सहकारीबाट ठगिएको भन्दा पनि न्याय पाएको समाचार सुन्न चाहना उनको भनाई छ ।
‘केही दिन अघिसम्म हामी सांसदहरूको घरमा सहकारी पीडितहरूको रुवाबासी चल्थ्यो । तर, घरघरमा रुवाबासी गर्दा चलेन भनेर माइतीघर मण्डलामा हामी सबैलाई सुनाउन लागि परेका छन् । यिनको आवाज राज्यले सुन्नै पर्छ’, उनले भने ।
त्यस्तै, नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारीको नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने माग राखेका छन् । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै शर्माले केही सहकारीका कारण संयौं सहकारी आलोचित भएको बताए । साथै उनले सहकारीकर्मी र पीडितसँग सरकारले संवाद गरेर समस्याको समाधान खोज्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस