aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आर्जन सहकारीमा ठगी: अध्यक्ष र सञ्चालक मालामाल, बचतकर्ताको बिल्लीबाठ !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ साउन २०८०
आर्जन सहकारीमा ठगी: अध्यक्ष र सञ्चालक मालामाल, बचतकर्ताको बिल्लीबाठ !

काठमाडौं । टोखा नगरपालिका–९ स्थित सामाखुशीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका (दर्ता नं. १६१५/०६४/०६५) सञ्चालकहरूले बचतकर्ताको ठूलो रकम अपचलन र ठगी गरेको तथ्य फेला परेको छ । ठगीकै माध्यमबाट आर्जन सहकारीका अध्यक्ष दलबहादुर आले लगायत सञ्चालक समिति सदस्यले करोडौं रुपैयाँ बराबर सम्पत्ति आर्जन गरेका छन् भने करिब १२०० बचतकर्ता बिल्लबाठ परेका छन् ।

सहकारीका सञ्चालक डीबी भनिने दलबहादुर आले हुन् । ४९ वर्षीय आलेको स्थायी ठेगाना लमजुङको साविक चक्रतीर्थ–५ हो, जुन हाल राइनास नगरपालिकामा पर्छ । निकटहरूका अनुसार लमजुङ राइनासबाट काठमाडौं आएका आलेले पहिले सुरक्षा गार्डको नोकरी गर्ने गर्थे । सशस्त्र विद्रोह त्यागेर माओवादीहरू शान्ति प्रकृयामा आएलगत्तै काठमाडौंमा घरजग्गा कारोबार र सहकारी खोल्ने होड चल्यो ।

यही होडमा आले पनि एकाएक सहकारी सञ्चालकमा रुपमा देखा परे । उनको यो ‘सहकारी धन्धा’मा गायिका शीला आले र दीपक थापा पनि जोडिए । शुरुमा यी तीनजना मिलेर सहकारी खोलेका थिए ।

बचतकर्तालाई यसरी लोभ्याउँथे 

आलेले शालिन र भद्र ढंगले बचतकर्तालाई लोभ्याउने गरेका थिए । राम्रो बोनस र ब्याज दिने आश्वासनसहित कयौंलाई फसाएका आलेले केही वर्षभित्रै ठूलो रकम लेनदेन गर्न थालेका थिए । बचतकर्तालाई उनले सहकारीबाट २० प्रतिशतसम्म ब्याजदर र अतिरिक्त बोनस समेत दिने गरेका थिए । उनले सहकारीसम्बन्धी कुनै कानूनी व्यवस्था पालना नगरिकन आफूहरूलाई धेरै ब्याजदर र बोनसको प्रलोभनमा पारी करोडौं रुपैयाँ ठगी गरेको पीडितहरू बताउँछन् । 

सहकारीका करिब ८० प्रतिशत बचतकर्ताहरूलाई उनीहरूको घरमै पुगेर विभिन्न प्रलोभन देखाइ आलेले रकम उठाएका थिए । यसरी रकम लिएपछि एक–दुईपटक आकर्षक ब्याज र बोनससहित रकम दिने पनि गरेका थिए । यसरी बचतकर्तालाई विश्वासमा लिएर थप रकम लिने गरेका थिए । आफ्नो प्रलोभनमा फसेका बचतकर्तालाई आलेले चिनजानका ‘को मानिससँग धेरै रकम या सम्पत्ति छ ?’ भनी सोध्ने र उनीहरूलाई पनि सहकारीमा बचतकर्ता बनाइ ठूलो रकम असुल्ने गरेको थिए । 

‘आर्जन सहकारीको कार्यालयमै गएर कुनै बचतकर्ताले रकम जम्मा गरेका छैनन्,’ एक पीडितले भने, ‘यसरी उठाएको रकम निज आलेले संस्थामै नराखी व्यक्तिगत ढंगले चलाएको हामीलाई पछि पो थाहा भयो । पहिले १६ देखि २० प्रतिशतसम्म ब्याज दियो । पछि त बैंकमा घरजग्गा राखेर रकम निकाल्न लगाएर सहकारीको कागज दिइ सो रकम पनि आफैंले अपचलन गर्न थालेछ ।’

आलेले एकल ढंगले संस्था चलाएको पीडितहरूको दाबी छ । हरेक वार्षिक साधारणसभामा बोनस र लाभांश बाँडेको आलेले गत पुसमा पनि सहकारीको साधारणसभामा संस्था नाफामै रहेको देखाएका थिए । तर, एक वर्ष नपुग्दै उनै आले बचतकर्ताको रकम फिर्ता गर्न नसकी फरार भएका छन् । सहकारीका अन्य सञ्चालकहरूले पनि प्रहरीको आँखा छलिरहेका छन् ।

योजनाबद्ध ठगी, उम्कन यस्तो दाउ

पीडितहरूका अनुसार करिब २५ करोड पोर्टफोलियो भएको आर्जन सहकारीमार्फत आलेले करिब १० करोड रुपैयाँ त एउटै समूहबाट ठगेका छन् ।

आलेले बचत रकम नै फिर्ता नगर्ने र उल्टै धम्क्याउन थालेपछि पीडितहरूले सहकारी नियामक र प्रहरीकहाँ गुहार लगाइसकेका छन् । पहिलोपटक भेट्दा संवेदनशील देखिएका नियामक निकायका अधिकारीहरूको दोस्रोपटक भेट्दा पूरै फेरिएको पीडितहरूको भनाइ छ । बागमती प्रदेशको सहकारी विभागका रजिष्ट्रार लगायतले आफूहरूलाई झन् पीडित बनाएको उनीहरूले बताएका छन् ।

आलेले स्वयमले पनि आफ्नो पहुँच निकै माथिसम्म रहेकाले जति ठगी गरेपनि आफूलाई कसैले केही गर्न नसक्ने पीडितहरूलाई बताउने गरेका छन् । नियामकलाई आर्थिक प्रलोभन दिएर कारबाहीबाट उम्किरहने र सहकारी सदस्यलाई पूर्णतः गलाएर बचतकै आश मार्न लगाउने नियत आलेले देखाएको पीडितहरू बताउँछन् । 

पखेराको जग्गा देखाएर दोहोरो ठगी !

आफूले गरेको ठगी सार्वजनिक हुने र साना बचतकर्ताले सहकारी नै घेर्ने स्थिति निम्तनसक्ने डरले आलेले केही पहिले ठूला बचतकर्ताहरूलाई रेखांकन नै नभएको भीरको जग्गा देखाएका थिए ।

करिब ६ लाख रुपैयाँ प्रतिआनामा किनेको जमिनलाई आलेले १८ लाख प्रतिआनामा सहकारीका ठूला बचतकर्तालाई भिडाउन खोजेका थिए । आलेले बचत फिर्ता गर्ने कुनै संकेत नदेखाएपछि आत्तिएका ठूला बचतकर्ताले सोही जग्गा भएपनि नामसारी गरिदिन भने ।

जग्गा नै माग्न थालेपछि आलेले फेरि एकाएक कुरा फेरे र भने, ‘यो जग्गा त अर्कैको नाममा छ, सहकारीमा तपाईंहरूको जति बचत छ : त्यसको दोब्बर मूल्य बराबरको जग्गा लिनुपर्छ ।’

बचत नै झ्वाम पारेका आलेले पीडित बचतकर्तालाई भीरपाखाको जमिन देखाएर त्यसलाई पनि अत्यधिक महँगोमा बेची दोहोरो ठगी गर्न खोजेको देखिन्छ ।

पीडितहरू नियामकहाँ नै पुगेपछि पछिल्लोपटक आलेले डर, धम्की र त्रास देखाएको सदस्यहरू बताउँछन् । आफूसँग शक्तिशाली मानिसहरू रहेको र सहकारी सदस्यले बचत फिर्ता मागे जो सुकैलाई जेल हाल्ने धम्कीसम्म दिएको पीडितहरूको दाबी छ । 

‘हामीलाई ठगेर करोडौंको सम्पत्ति जोडे’: पीडित 

सहकारीका पीडितहरूले आलेले आफूहरूलाई ठगेर करोडौं मूल्य बराबरको सम्पत्ति जोडेको बताएका छन्‌ । असार १ गते गृह र सहकारी मन्त्री, नेपाल प्रहरी मातहतको अपराध अनुसन्धान विभाग, सहकारी विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा दिएको उजुरीपत्रमा आर्जन सहकारी पीडितहरूले आलेले गरेको ठगीबारे उल्लेख गरेका छन्‌ ।

‘आलेले निजको श्रीमती तथा साली लगायतको नजिकका परिवारका सदस्यहरू तथा वित्तीय प्रबन्धक र निजको परिवारको सदस्यहरूको मिलीभगतमा संस्थाको बचत रकम अनावश्यक र गैरकानूनी रूपमा प्रयोग गरेको तथा गैरकानूनी दायित्व सिर्जना हुनेगरी दुरुपयोग गरी अनपेक्षित र गैरकानूनी आर्थिक कारोबार गरेको सुनिन आएको’ सो उजुरीमा उल्लेख छ ।

पीडितहरूले उजुरीमा अगाडि लेखेका छन्‌, ‘विगत एक डेढ वर्षभित्र निजहरूले थप दुईवटा मार्ट, एक क्याफे, एक ठूलो लगानीको पसल सञ्चालन गरेको, शेयरहरूमा कारोबार गरेको बुझिएको तथा ग्रीन सिटी हस्पिटलमा समेत केही लगानी गरेको सुनिएको, काठमाडौंका विभिन्न ठाउँहरू जस्तै : ग्रीनल्याण्ड टोखा, काभ्रेस्थली, भक्तपुर, चन्द्रागिरि, दहचोक (दुई ठाउँमा), लुभु, चितवन, सुनसरी, लमजुङ, पोखरा (अन्य ठाउँमा पनि हुन सक्ने) लगायतमा घर जग्गामा लगानी गरेको बुझिएको...’

आलेको जवाफ: ‘बचतकर्तालाई ब्याज बुझाउँदा रकम सकियो’

आर्जन सहकारीका पीडितहरूलाई आलेले आजित बनाएपछि केही अघि बचतकर्ताहरूले भेला डाके । सो भेलामा बल्लतल्ल आएका आलेले संस्थाका बचतकर्तालाई ब्याज बुझाउँदा सबै रकम सकिएको जवाफ दिए ।

उनै आलेले बचतकर्ता मध्येबाटै छानेर छानबिन समिति पनि बनाए । तर, समिति सदस्यहरूलाई आफ्नो पक्षमा प्रतिवेदन तयार पार्न दबाब दिए । त्यसो नगर्न र सत्यतथ्य बाहिर ल्याउन सहकारी पीडितले खबरदारी गरेका कारण छानबिन समितिले अझैसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

बचतकर्तामाथि पनि प्रश्न

बढी फाइदा हुने लोभमा कुनै व्यक्तिले ‘सहकारीको अध्यक्ष हुँ’ भन्दै ल्याएको कागजातमा ल्याप्चे र सही ठोकेर रकम बुझाउने आर्जन सहकारीका बचतकर्ताहरू पीडित भएपनि उनीहरूले आफूमाथि नै प्रश्न उठाउने ठाउँ छाडेका छन् ।

सहकारीको माध्यमबाट आलेले धेरै ठगेकाहरूमा विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरी उच्चमध्यम वर्गीय हैसियत बनाएकाहरूको बाहुल्यता छ । सहकारीको नाममा आलेले करिब २० जना बचतकर्ताबाटै ८ करोड रुपैयाँ ठगी गरेका छन् । १२ सयमध्ये बाँकी बचतकर्ताबाट आलेले कति ठगे भन्ने पूर्ण विवरण सजिलै निकाल्न सक्ने अवस्था नरहेको पीडितहरू बताउँछन् ।

सहकारीका कागजात घरैमा पुर्‍याएर रकम असुल्ने र सो रकम आफैंले हिनामिना गर्ने गरेका कारण यस्तो स्थिति निम्तिएको उनीहरूको भनाइ छ । सहकारीको भनिएको कागजातमा सही गरेर भएभरको सम्पत्ति आलेलाई बुझाएर ठूला बचतकर्ताहरूको घरजग्गा बैंकमा छ, तर परिवारका सदस्यलाई घरमुलीले त्यसो गरेको अझैसम्म थाहा छैन । आलेले ठग्दा पीडित बनेकाहरू अधिकांशले सहकारीका नाममा आलेलाई सम्पत्ति बुझाउँदा परिवारसँग कुनै सल्लाह नगरेको बताएका छन् । 

‘लाख होइन, करोड डुबेको छ । भएभरको बचत र घरजग्गा बैंकमा धितो राखेर रकम निकाली आलेलाई दियौं,’ एक पीडितले भने, ‘श्रीमानले यसो गरेको श्रीमतीलाई थाहै छैन, श्रीमतीले रकम बुझाएको श्रीमानलाई थाहा छैन । छोराछोरीले अत्यावश्यक खर्चका लागि रकम माग्दा समेत दिन नसक्ने भैसक्यौं । परिवारका सदस्यले सम्पत्ति देखाउन भनेका बेला भाग्ने या दुर्घटना निम्त्याउनुपर्ने स्थितिमा पुगिसक्यौं ।’ 

आर्थिकन्यूजको कार्यालयमा आइपुगेका पीडितहरूले परिवारले थाहा पाउने हुनाले समाचारमा नाम नलेखिदिन बारम्बार अनुरोध गरिरहे ।
पीडितहरू भन्छन्, ‘सरकारले अनुमति दिएर खोलेको संस्थालाई सरकारले नियमन गरेकै होला भनी विश्वास गर्‍यौं । हामीले त बढी प्रतिफल दिनेकहाँ नै निक्षेप राख्ने हो । आर्जन सहकारीका आलेले बढी प्रतिफल दिन्छु भने, त्यसैले घरजग्गा नै बेचेर रकम बचत गर्‍यौं ।’

मन्त्रालयले सीआइबी गुहार्‍यो

गत वैशाख ११ गते सहकारीका ठूला बचतकर्ताहरूले हेटौंडास्थित पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमा आर्जन सहकारीका अध्यक्ष दलबहादुर आलेसहित सबै सञ्चालकविरुद्ध ठगी आरोपमा उजुरी दिएका दिए । मन्त्रालयले उजुरीबारे लिखित जवाफ पेश गर्न सहकारीमा पत्राचार गरेको थियो ।

अध्यक्ष आलेले अधिकांश बचतकर्ताको रकम धेरै समयपछि फिर्ता गर्ने भनेपनि फिर्ता गर्ने कुनै निश्चित योजना पेश नै गरेनन् । मन्त्रालयका अनुसार आलेले जवाफमा झुठा विवरण पेश गरेको र छलफलमा बस्न भन्दा तत्काल बचत फिर्ता गर्न नसक्नेउ भन्ने गरेको भनी पीडितहरूले जेठ ३ गते आवश्यक कारबाही गरी पाऊँ भनी पुनः निवेदन दिएका थिए । 

जेठ ११ र २१ गते उजुरीकर्तासँग छलफलका लागि पत्राचार गर्दासमेत सञ्चालकहरू उपस्थित नभएपछि मन्त्रालयले असार १ गते दुई अधिकृत प्रतिनिधि सहकारीको कार्यालयमै पठाएको थियो । मन्त्रालयका प्रतिनिधिहरूले सहकारीको सम्पत्ति र दायित्व अभिलेख हेर्दा सम्पत्तिभन्दा दायित्व बढी देखिएको र संस्थाले बचतकर्ताको बचत रकम फिर्ता गर्न सक्ने अवस्था नदेखिएको निष्कर्ष निकालेका थिए ।


यस्तो स्थिति देखिएपछि मन्त्रालयले आर्जन सहकारीका अध्यक्ष दलबहादुर आले (डीबी आले) सहित सबै सञ्चालकहरूले मिलेमतो गरी ठगी गरेको, रकम अपचलन गरेको, खाइमासी सिध्याएको, बचतकर्तासँग समन्वय र सहकार्य गरी सहकारीलाई पुनः सञ्चालन गर्ने कार्यमा कुनैए सहयोग नगरेको र संस्थालाई टाट अवस्थासम्म पुर्‍याउन ठूलो भूमिका खेलेको साथै अध्यक्ष र अन्य सञ्चालक सदस्यहरू जिम्मेवारीबाट पन्छिने गरेको देखिएको जनाउँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई पत्राचार गरेको छ । असार १३ गते गरिएको सो पत्राचारमा मन्त्रालयले सञ्चालकहरूलाई प्रचलित सहकारी कानूनसम्बन्धी कसुर/ठगीमा कारबाही गर्न तथा उक्त सहकारी संस्थाविरुद्ध थप भइ आउने उजुरी/निवेदन समेतलाई अनुसन्धान एवम् कारबाहीमा संलग्न गर्नेगरी मन्त्रीस्तरीय निर्णय गरी सीआइबी गुहारेको हो ।

यता, सोही मन्त्रालयले महानगरीय प्रहरी परिसर टेकुलाई गत जेठ ३ गते पत्र लेख्दै आर्जन सहकारीका सबै सञ्चालकहरूलाई निगरानीमा राख्न पत्राचार गरिसकेको छ भने जिल्ला प्रहरी परिसर काठमाडौंले पनि प्रहरी वृत्त महाराजगञ्जको कारबाही शाखामा आवश्यक कागजात पठाएको छ ।

यी हुन् आर्जन सहकारीका सञ्चालकहरू

झण्डै १२ सय बचतकर्ताको बचत अपचलन तथा ठगी गरेको आर्जन सहकारीका अध्यक्ष दलबहादुर आले हुन् । सहकारीका उपाध्यक्ष लिलाधर सापकोटा, सचिव राजकुमार गुरुङ र कोषाध्यक्ष सीता भट्टराई हुन् । अनिल शर्मा, अरुणकुमार खनाल र कोपिला राना सञ्चालक समिति सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस