
काठमाडौं । बैंक व्यवस्थापनको मुख्य जिम्मेबारीमा रहेका बैंकका प्रमुख कार्यकारी प्रमुख (सीईओ) जहिले पनि तनावमै हुन्छन् । बैंकको व्यवस्थापन, दैनिक बैठक, सञ्चालक समितिसँग नियमित सम्पर्क, सामाजिक कार्यक्रममा सहभागी हुनुपर्ने, व्यापार विस्तार, नियमक निकायसँगको छलफल आदि काम भएकाले पनि सीईओहरु बढी व्यस्त र तनावमै देखिन्छन् । पछिल्लो समय उनीहरुको तनावमा ह्याकर र सीआईबी पनि थपिएको छ ।
चनियाँ ह्याकरले वितन्ड मच्चाएको एक महिना नहुँदै पुनः कृषि विकास बैंकमा त्यस्तै खाले घटना घटेको छ । कृषि विकास बैंक लाहान शाखाको पार्सवर्ड प्रयोग गरी ह्याकरले करिब ५ करोड रुपैयाँ चोरी गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । उक्त अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । उनीहरुले ५ अर्बभन्दा बढी चोरी गर्ने योजना बनाएका प्रहरीको भनाइ छ ।
यता, बैंक अफ काठमाण्डूका पूर्वसीईओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । उनीहरुले खोलाभित्रको जग्गा धितोमा राखेर ऋण दिएको सीआईबीको आरोप छ । बैंक सञ्चालकहरुले ऋण प्रवाह गर्न बढी दबाब दिने गरेकाले पनि बैंकका सीईओहरु अहिले यस्तै लफडामा परिने हो कि भनेर तर्सिन थालेका छन् । रातमा पनि चैन नभएको एक बैंकका सीईओले बताए । चिनियाँ नागरिकले रातको समय पारेर एटीएम मेसिन ह्याक गरेर पैसा झिकेपछि सीईओको निद्रा भंग भएको थियो । अहिले पनि उनीहरुलाई दशैंको बेला फेस्टिवल मुडमा हुनुपर्नेमा भोक निद्रा नै हराएको गुनासो गर्न थालेका छन् ।
एटीएम मेसिनले भरपर्दो र गुणस्तरीय सेवा दिन नसकिरहेकोे सर्वसाधारणको व्यापक गुनासो भइरहेका बेला चिनियाँ ह्याकरले एटीएम मेसिन नै ह्याक गरेपछि त झनै समस्या थपिएको हो । एक बैंकर भन्छन–‘सुरक्षाका कारण पनि रातिमा एटीएम सुविधा दिन सकिएको छैन ।’ मेसिन नै तोडफोड गरेर रकम लैजान सक्ने सम्भावना नभए पनि गैरकानुनी रुपमा रकम निकाल्ने गरेका कारण एटीएम मेसिनसमेत सुरक्षित नभएपछि सुरक्षाकर्मीलाई त चिन्ता छ नै त्यसमा पनि बैंकको उच्च व्यवस्थापनमा बस्नेलाई चैन हुने कुरै भएन् । एटीएम ह्याक घटनामा ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेप नि बाँकी भने फरार छन् ।
उनीहरुले कतिबेला बितन्डा मच्चाउने हुन भन्ने तनावमा बैंकका सीईओ छन् । एटीएम ह्याक कसरी गरे भन्ने सम्बन्धमा नेपाल राष्ट बैंकले एउटा समिति नै गठन गर्न पुग्यो । त्यसले मात्र नपुगेर सिंगापुरबाट बिशेषज्ञ टोली नै बोलायो । सिंगापुरको टोलीले अहिलेसम्म आधिकारिक रुपमा कुनै निष्कर्ष नदिए पनि केन्द्रीय बैंकको समितिले घुमाउरो शैलीमा बैंक व्यवस्थापनलाई नै दोषी देखाएको छ । पछिल्लो समय एटीएम सेवालाई कसरी सुरक्षित बनाउने भन्ने चिन्तामा सीईओ छन् । चिनियाँ ह्याकरले एटीएमबाट ठूलो मात्रामा रकम निकालेपछि एटीएमको सुरक्षाको चिन्ता झनै जटिल बनेको छ । यता, कृषि विकास बैंक र बैंक अफ काठमाण्डूमा भएको काण्डले सीईओहरुलाई झनै तनाव बढाएको छ। ।
प्रतिक्रिया दिनुहोस