
काठमाडौं । केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)का प्रहरी नायब उपरीक्षक (डिएसपी) मदनजीत महराले १२ सय बचतकर्ता ठगेका सामाखुशीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकहरूलाई ‘भगाएका’ छन् । बचतकर्ताहरूले दिएको उजुरीबमोजिम बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले जेठ ३ गते र असार १३ गते अनुसन्धान एवम् कारबाही गर्न पठाएको पत्र बमोजिम पक्राउ गरी कारबाही प्रकृया अघि बढाउनुपर्नेमा डीएसपी महराले अध्यक्ष दलबहादुर आले र कार्यालय व्यवस्थापक कविता गुरुङलाई मात्र हिरासतमा राखेर अन्य सबै सञ्चालकलाई सामान्य तारेखमा छाडिदिएका हुन् ।
महराले सहकारी अध्यक्ष आले र कर्मचारी गुरुङलाई मात्र हिरासतमा राखेर अन्य सबै सञ्चालकलाई सामान्य तारेखमा छाडेको प्रहरी स्रोतले आर्थिकन्युजलाई बतायो । उक्त विषयमा सिआइबीका प्रवक्ता सञ्जय थापासँग प्रतिक्रिया माग्दा उनले भने, ‘उक्त सहकारीका सञ्चालकहरूमाथि अनुसन्धान शुरु भइसकेको छ । अब कसलाई पक्राउ गर्ने/कसलाई नगर्ने भन्ने विषय अनुसन्धानको प्रक्रियालाई हेरेर हुन्छ ।’ यता डिएसपी महरासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
प्रहरी स्रोतका अनुसार डिएसपी महराले ‘तपाईंहरू घर जानुहोस्, यता म मिलाउँछु’ भनेर अन्य सबै सञ्चालकहरूलाई घर जान भनेका थिए ।
सहकारीका अध्यक्ष आलेलाई भने चेक बाउन्स उजुरीका आधारमा गत बिहीबार नै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको थियो । सहकारीका बचतकर्ताको केही सय रुपैयाँ समेत फिर्ता गर्न नमानेका आलेले ती उजुरीकर्ताको रकम भने तत्कालै बुझाएका थिए । प्रकृया पुर्याएर प्रहरीले आलेलाई छाडिदिएको थियो ।
तर, प्रहरी वृत्तले छाड्नासाथ निजलाई सीआइबीको टोलीले पक्राउ गरेको थियो । बचतकर्ताको उजुरीका आधारमा प्रदेश सहकारी मन्त्रालयले पठाइएको पत्रअनुसार आलेलाई सीआइबीको टोलीले पक्राउ गरेको हो । आलेसँगै सबै सञ्चालकलाई नियन्त्रणमा लिएपनि डिएसपी महराले सामान्य सोधपुछमात्रै गरेर आले र गुरुङ बाहेक सबैलाई सामान्य तारेखमा छाडिदिएका हुन् । प्रहरी स्रोतका अनुसार डिएसपी महराले ‘तपाईंहरू घर जानुहोस्, यता म मिलाउँछु’ भनेर अन्य सबै सञ्चालकहरूलाई घर जान भनेका थिए ।
आर्जन सहकारीका सञ्चालकहरूले झण्डै १२ सय बचतकर्ताको करोडौं रकम ठगेका छन् । बचतकर्ता ठगिएकोबारे आर्थिकन्यूजले यसअघि नै विस्तृत समाचार प्रकाशन गरिसकेको छ । गत आइतबार सिआइबीमा उक्त सहकारीका अन्य सञ्चालकहरू पनि उजुरीका कारण प्रहरी कार्यालयमा आएका थिए ।
लमजुङको साविक चक्रतीर्थ–५ का आलेले सहकारीका नाममा बचतकर्ताबाट रकम उठाउने र व्यक्तिगत प्रयोजनमा खर्च गर्ने गरेको आरोप छ । सहकारीका पीडितहरूले उजुरी दिएपछि आले लगायत सञ्चालकहरूमाथि अनुसन्धान र कारबाही गर्न सीआइबीलाई यसअघि नै पत्राचार गरिसकेको थियो । सीआइबीको निगरानीमा परेपछि आले लुकेर हिँडेका थिए ।
सहकारीका सञ्चालकमा अध्यक्ष दलबहादुर आले हुन् । उपाध्यक्ष लीलाधर सापकोटा, सचिव राजकुमार गुरुङ र कोषाध्यक्ष सीता भट्टराई हुन् । अनिल शर्मा, अरुणकुमार खनाल र कोपिला राना सञ्चालक समिति सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस