aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

साउन १८ गतेदेखि नेपाल एसबिआई बैंकको २ अर्ब बराबरको ऋणपत्र निष्कासन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० साउन २०८०
साउन १८ गतेदेखि नेपाल एसबिआई बैंकको २ अर्ब बराबरको ऋणपत्र निष्कासन हुने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने जानकारी दिएको बैंकले बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

सर्वसाधारणतर्फको ऋणपत्रमध्य ५ प्रतिशत दरको ४० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारणमा ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी भने एनएमबि क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल ए रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् । ऋणपत्र विक्री अवधि छिटोमा साउन २२ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन ३२ गतेसम्म विक्री लम्बिनेछ ।
 

प्रतिक्रिया दिनुहोस