aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बैंक ‘ह्याकिङ’ एजेन्ट भुषाल स्याङ्जाबाट समातिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
बैंक ‘ह्याकिङ’ एजेन्ट भुषाल स्याङ्जाबाट समातिए

काठमाडौं । कृषि विकास बैंकको सफ्टवेर ‘ह्याक’ गरेर रकम निकालिएको घटनामा संलग्न एजेन्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बिहीबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ ।

सोही घटनामा संलग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँचजना फरार रहेको महाशाखाले जनाएको छ ।

पक्राउपर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौं ल्याएर घटनाको अनुसन्धान गरिने उनले बताए ।

उनको बैंक खातामा रु ६५ लाख जम्मा भएपनि उनले निकाल्न भ्याएका थिएनन् ।

यसअघि, महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेन्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीकाअनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिका नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँबानेश्वरबाट रु १२ लाख निकालेका थिए ।

त्यसमध्ये १० लाख हुन्डीमार्फत् विदेशी ह्याकरलाई पैसा पठाएपनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ । प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ ।

यसका मुख्य योजनाकार अफ्रिकीमूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाइ नेपाली एजेन्टलाई प्रयोग गरेका थिए । उनले रु पाँच अर्ब निकाल्ने योजना बनाएको खुल्न आएको छ । 

प्रतिक्रिया दिनुहोस