काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बिहीवार दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मल्टीपर्पस फाइनान्स र सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य समायोजन गरेको हो । मल्टीपर्पस फाइनान्सले १ बराबर शून्य दशमलव ३५ को अनुपातमा र सिनर्जी पावरले २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । दुबै कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन १२ गते शुक्रवार बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो ।
नेप्सेले साउन ११ गतेसम्म कायम मल्टिपर्पस फाइनान्सको अन्तिम शेयरमूल्य ३९४ रूपैयाँ ८० पैसाको आधारमा ३५ प्रतिशत हकप्रद शेयरपछिको मूल्य प्रतिकित्ता ३१८ रूपैयाँ ३७ पैसा तोकेको हो । त्यस्तै नेप्सेले सिनर्जी पावरको साउन ११ गते कायम अन्तिम शेयरमूल्य २५५ रूपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयरपछिको मूल्य २०३ रूपैयाँ ३३ पैसा तोकेको छ ।
आगामी आइतवार यी दुई कम्पनीको समायोजनपछिको मूल्यका आधारमा शेयर कारोबार खुला हुनेछ । बुक क्लोजको आधारमा भने साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र दुबै कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
सिनर्जी पावरले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ८० करोड ६५ लाख रूपैयाँ छ । ५० प्रतिशत हकप्रद पछि सिनर्जी पावरको चुक्तापूँजी १ अर्ब २० करोड कायम हुनेछ ।
त्यस्तै मल्टीपर्पस फाइनान्सले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल यस कम्पनीको चुक्तापूँजी ४५ करोड २० लाख रूपैयाँ छ । ३५ प्रतिशत हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी ६२ करोड कायम हुनेछ । दुबै कम्पनीहरूले हकप्रद शेयर निष्कासनको मिति भने तय गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस